दुर्गामूर्ति विसर्जनका दिन नेपालगन्जस्थित फुलटेक्रामा उत्पन्न विवाद अन्ततः आपसी समझदारी र क्षमाशीलताका साथ समाधान भएको छ । मुस्लिम समुदायको घरबाट कपडामा लटपटिएको दिसाजस्तो देखिने वस्तु खसेपछि सुरु भएको तनाव दुवै समुदायका महिलाको सहिष्णुता र स्थानीय मिलाप प्रयासका कारण टुंगिएको हो ।
दुर्गामुर्ति विसर्जनको र्याली चलिरहेको थियो । भजनकीर्तनमा रमाइरहेका भक्तजन हर्षोल्लासका साथ नदीतिर अगाडि बढिरहेका थिए । यत्तिकैमा एक मुस्लिम समुदायको घरबाट कपडामा लटुपटिएर दिसाजस्तो देखिने वस्तु तल खस्यो । त्यो वस्तु र्यालीमा सहभागी एक हिन्दु महिलामाथि पर्यो । क्षणभरमै भीडबीच हलचल मच्चियो । कसैले ‘दिसा फालियो’ भन्दै आवाज उठाए । र, केही युवाहरु आक्रोशित हुँदै त्यही घरतर्फ लम्किए । सामान्य घटनालाई धार्मिक रंग दिएर ठूलो विवादमा रूपान्तरण गर्ने अवस्था तयार भयो । तर त्यसबीचमा प्रहरी र स्थानीय अगुवाहरू समयमै पुगे । खोजबिन गर्दा थाहा भयो, त्यो कुनै नियोजित घटना होइन । उक्त घरकी मुस्लिम महिलाले आफ्नो सानो बच्चाको कपडा धुई घाममा सुकाउन लगाएकी थिइन् । कपडा सुकाउने क्रममा त्यसमा लटुपटिएको बच्चाको दिसा खसेको रहेछ । त्यो दिसा र्यालीमाथि परेपछि अनावश्यकरूपमा अप्ठ्यारो परिस्थिति बनेको थियो ।
घटना सार्वजनिक भएपछि मुस्लिम महिलाले तत्काल माफी मागिन् । उनले भनिन्, ‘मबाट गल्ती भयो, तर त्यो नियतले होइन । मैले सोचेको पनि थिइनँ कि त्यस्तो हुन्छ ।’ उनको माफी र स्पष्टिकरणपछि हिन्दु समुदायकी ती महिला पनि सहिष्णु देखिइन् । उनले भावुक हुँदै भनिन्, ‘दुर्घटना जसको पनि जीवनमा हुन सक्छ । यसबाट हामी दुवै समुदायले झनै समझदारी बढाउनुपर्छ ।’ यही दुई महिलाको विवेक र सहिष्णुताले सम्भावित ठूलो विवादलाई साम्य पारेको छ । केही समयका लागि तनावपूर्ण बनेको माहोल फेरि शान्त बनेको छ । दुवै समुदायका स्थानीय अगुवा, प्रहरी, र धार्मिक संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा दुवै पक्षबीच मिलापत्र भयो । दुवैले एकअर्कालाई माफी माग्दै अब भविष्यमा यस्ता घटनालाई गलत रूपमा नबुझ्ने सहमति जनाए ।
घटनापछि फुलटेक्रा क्षेत्रमा देखिएको आपसी समझदारी र धार्मिक सद्भावको भाव देशभरका लागि प्रेरक बनेको छ । ‘पहिले तनाव थियो, तर पछि सत्य थाहा पाएपछि सबै ठिक भयो । हामीले धर्मभन्दा माथि मानवीयता देख्यौं,’ एक हिन्दु युवाले भने । त्यसैगरी मुस्लिम समुदायका एक व्यक्तिले भने, ‘यो घटना हामी सबैका लागि पाठ हो । सानो गल्ती वा संयोगलाई नबढाई, बुझेर अघि बढ्नु नै समाधान हो ।’
नेपालगन्ज जस्तो बहुसांस्कृतिक सहरमा धार्मिक विविधता सामान्य विषय हो । हिन्दु, मुस्लिम, ख्रिस्टियन र अन्य समुदायका मानिसबीच दैनिकी साझा छ । तर कहिलेकाहिँ यस्ता सानातिना घटनाले आपसी सद्भावमा चुनौती ल्याउँछन् । फुलटेक्राको घटना त्यही सन्दर्भमा सन्देशबाहक बन्यो, ‘समझदारी र क्षमाशीलता नै सहअस्तित्वको बाटो हो ।’
दुर्गामूर्ति विसर्जनका दिन नेपालगन्जका अन्य स्थानहरूमा पनि साना विवाद देखिएका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले बताए । उनका अनुसार अन्य घटनाहरू पनि अहिले मेलमिलापको प्रक्रियामा छन् । प्रहरी प्रशासनका अनुसार कुनै पनि ठाउँमा ठूलो झडप वा हिंसात्मक अवस्था सिर्जना हुन नदिइएको हो । फुलटेकरीको घटनामा निर्णायक भूमिका निभाउने ती दुई महिलाले समाजलाई एउटा स्पष्ट सन्देश दिएका छन्, ‘धर्मभन्दा ठूलो मानवीयता हो । एकको गल्तीलाई माफ गर्ने र अर्कोले गल्ती स्वीकार गर्ने संस्कारले समाज बलियो बन्छ ।’
अब फुलटेकरीका स्थानीयहरू भन्छन्, ‘पहिले डर लागेको थियो, अहिले गर्व लागेको छ । हाम्रो टोलले देखायो शान्ति र सद्भाव भनेको हृदयमा हुन्छ ।’ नेपालगन्जका अन्य समुदायले पनि सो घटनाबाट प्रेरणा लिँदै आपसी विश्वास बलियो बनाउने प्रयास गरिरहेका छन् । असली विजय त्यही हो जहाँ द्वन्द्व होइन, समझदारीको उत्सव मनाइन्छ । ठूलो संख्यामा परिचालन भएको प्रहरीले त्यस दिन ठूलो झडपबाट जोगाएको थियो ।
प्रकाशित: २२ आश्विन २०८२ १७:३३ बुधबार