समाज

भोजपुरमा सुन्तलामा फल झर्ने रोग

सुन्तलाको फल खस्ने रोग देखिएपछि यहाँका किसान समस्या परेका छन्। सुन्तलाका दानाका भेट्नो कुहिएर झर्न थालेसँगै यहाँका व्यावसायिक सुन्तलाखेतीमा लागेका किसान समस्यामा परेका हुन्।

सुन्तलाको फल झर्ने समस्याले किसानलाई चिन्तित बनाएको भोजपुर नगरपालिका-३ गुप्तेश्वरका किसान डम्बर बस्नेतले बताए। सुन्तलामा विभिन्न खालका रोग देखिएपछि किसान समस्यामा परेको उनको भनाइ छ। “सुन्तलामा पछिल्लो समय फल झर्ने समस्या देखिएको छ”, उनले भने, “भेट्नो कुहिएर फल झरिरहेको छ, सुन्तलाको फल झर्ने रोगले चिन्तित बनाएको छ।”

गुप्तेश्वरका तमना, रबे, सिमलबोटे, बलौटे, वाछला लगायत ठाउँका झण्डै ३०० किसानले सुन्तलाखेती गर्दै आएको उनले बताए। सुन्तलामा रोग देखिएपछि किसान उपचारको खोजीमा रहेको उनको भनाइ छ।

सुन्तलामा फल झर्ने, हाँगा सुक्ने, ढुसी लाग्ने, पात बेरिने समस्या देखिएको स्थानीय किसान शारदा थापाले बताए। फल झर्ने रोगले कतिपय बोट खाली नै भइसकेको उनको भनाइ छ। गत वर्ष १० लाख रूपैयाँको सुन्तला बेचेको भए पनि यस वर्ष रोगका कारण उत्पादन घट्ने चिन्ता बढेको उनको भनाइ छ।

“फल झर्ने रोगले बगान नै खाली हुने अवस्था छ”, उनले भने, “गत वर्ष १० लाख रूपैयाँको सुन्तला बेचेकी थिएँ, फल झरेका कारण यस वर्ष उत्पादन घट्ने चिन्तामा छु।” आफ्नो बगानमा साना ठूला गरी झण्डै ७०० बोट सुन्तला रहेको उनको भनाइ छ।

भुइँमा झरेको सुन्तलाको दाना काटेर हेर्दा कुनै किरा नरहेको अर्का किसान तीर्थ प्रधानले बताए। राज्यले रोगको निराकरणका लागि ध्यान दिन आवश्यक रहेको उनले बताए। प्रायः यहाँका सबै किसानको सुन्तला बगैंचामा फल खस्ने रोग देखिएको उनले बताए।

“सुन्तलामा विभिन्न खालका रोग देखिँदा हामी किसान समस्यामा छौं”, उनले भने, “राज्यले रोगको पहिचान गरिदिए हुने थियो, रोगको पहिचान भएमा हामी आफैं औषधि किनेर लगाउन तयार छौं, यही समस्या रहेमा बगान नै सखाप हुने अवस्था छ।”

प्रकाशित: १८ भाद्र २०८२ १३:२५ बुधबार