महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गर्ने जनाएको छ।
मन्त्रालयले भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका विभिन्न स्थानीय तहमा ठूलो धनजनको क्षति भएको भन्दै विपद्को अवस्थामा जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलालाई प्राथमिकतामा राखेर उद्धार गरिने जनाएको हो।
मन्त्रालयका अनुसार प्रभावित स्थानीय तहबाट समेत जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धारका लागि समन्वय गर्न सकिनेछ। घरपरिवार छरछिमेकमा रहेका त्यस्ता गर्भवती तथा सुत्केरी महिला वा २४ घण्टाभित्रका नवजात शिशुको स्थानीय तहमा उपचार हुन नसकेको अवस्थामा तत्काल सम्पर्क गरी निःशुल्क हवाई उद्धारको व्यवस्था गर्न मन्त्रालयले आग्रह गरेको छ।
मन्त्रालयले रसुवाका गोसाइँकुण्ड, उत्तरगया, कालिका र आमाछोदिङ्मो गाउँपालिका तथा नुवाकोट, धादिङ र तनहुँका विभिन्न स्थानीय तहलाई प्रभावित क्षेत्रका रूपमा व्याख्या गरेको छ।
प्रकाशित: १८ भाद्र २०८३ १४:०५ बिहीबार