जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले आधिकारिक अभिलेखसँग विवरण मेल नखाने चारवटा चारपाङ्ग्रे सवारी साधन नियन्त्रणमा लिएको छ।
ती सवारी साधनलाई थप अनुसन्धानका लागि इटहरीस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयमा पठाइने तयारी भइरहेको छ।
कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक सुमन अधिकारीका अनुसार, नियन्त्रणमा लिइएका सवारीमा ना १ ज १५८३, को १ ज ११११, ना ३ च ३९२८ र ना २ च ७२९५ नम्बरका गाडी रहेका छन्।
नियन्त्रणमा लिएका मध्य ना १ ज १५८३ नम्बरको सवारी यातायात व्यवस्था कार्यालय वीरगन्जको अभिलेखमा नदेखिएको तथा को १ ज ११११ नम्बरको सवारीको दर्ता किताबमा रहेको नम्बरसँग गाडीमा भएको इन्जिन नम्बर मेल नखाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख अधिकारीले जानकारी दिए।
उनका अनुसार ना ३ च ३९२८ नम्बरको गाडी यातायात व्यवस्था कार्यालयको इजाजत तथा स्वीकृत नगरी पञ्च गरिएको अवस्था रहेको छ।
ना २ च७२९५ नम्बरको सवारी दर्ता किताबमा रहेको इन्जिन नम्बरमा गाडीमा भएको इन्जिन नम्बर मेल नखानुका साथै उक्त सवारीको दर्ता किताबमा उल्लेख भएको रंग रातो रहेको र फेला पारिएको सवारीको रंग सेतो रहेकोले शङ्कास्पद लागि नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान तथा कारबाही सुरु गरिएको समेत अधिकारीले जानकारी दिए।
प्रकाशित: २ मंसिर २०८२ २०:१४ मंगलबार