समाज

उत्कृष्ट भिडियो बनाउने चारजना पुरस्कृत

सिटी सफारी व्यवस्थापनका लागि अभियान सञ्चालन गरिरहेको विकल्प एन अल्टरनेटीभ संस्थाले नेपाली समाजमा सिटी सफारीले पुर्‍याएको योगदान विषयमा भिडियो बनाउने उत्कृष्ट चार जनालाई पुरस्कृत गरेको छ । 

बुधबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी उत्कृष्ठ भिडियो बनाउने चार जनालाई पुरस्कृत गरेको हो ।  

भिडियो प्रतियोगितामा प्रथम हुने संगम पौडेललाई २५ हजार रुपैयाँ राशीको पुरस्कार प्रदान गरिएको छ । यस्तै दोस्रो हुने सत्य राजवंशीलाई १८ हजार,तेस्रो हुने सीताराम कोइरालाललाई १० हजार र चौथो हुने अनिश हमाललाई ७ हजार रुपैयाँ नगदसहित अवार्ड प्रदान गरिएको छ ।

यस्तै सुरक्षित चालक अभियानमा सहयोग पु¥याउने विद्यार्थीहरूलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो । सिटी सफारीको लाइसेन्स प्राप्ति सहज बनाउन महत्वपूर्ण भूमिका खेलेबापत कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीलाई पनि सम्मान गरिएको छ । कार्यक्रममा पुरस्कृत तथा सम्मानित हुनेहरूलाई कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री उमाकान्त गौतम, संस्थाका अध्यक्ष भेषप्रसाद धमालालगायतले नगद, प्रमाणपत्र र सममान पत्र प्रदान गरे  । 

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री उमाकान्त गौतमले ट्राफिक व्यवस्थापन, सवारी नियकको पालना लगायतका कामलाई थप प्रभावकारी बनाउँदै लैजान प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।  

कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले सरकारको काम पारदर्शी, सुशासन र नागरिकमैत्री हुनुपर्नेमा जोड दिए । कार्यक्रममा सिटी सफारी चालकहरू, ट्राफिक प्रहरी,विभिन्न क्याम्पसका विद्यार्थी, अभियन्ताहरूको सहभागिता रहेको थियो ।  

प्रकाशित: ३० पुस २०८२ २०:२६ बुधबार