सुर्खेतमा लागूऔषध खैरो हेरोइनसहित सशस्त्र प्रहरीका दुई बहालवाला कर्मचारी पक्राउ परेका छन्। प्रहरीले सशस्त्र प्रहरीसहित चार जना पक्राउ परेका हो।
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका–१३, करेखोलाबाट उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर–१३ का २३ वर्षीय रूपेश घर्ती मगर र २७ वर्षीय कुमारबहादुर रास्कोटी तथा वीरेन्द्रनगर–१२ का ३२ वर्षीय बालाराम पौडेल र ३५ वर्षीय नवराज चालिसे रहेका छन्।
प्रहरीले सुरुमा रूपेश घर्ती मगरसहित दुई जनालाई ३.१९० ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो। थप अनुसन्धानका क्रममा लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा नवराज चालिसे र बालाराम पौडेललाई थप ८.८३० ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको ब्युरोले जनाएको छ। यससँगै उनीहरूबाट कुल १२.०२० ग्राम खैरो हेरोइन र चार थान मोबाइल बरामद गरिएको छ।
ब्युरोका अनुसार पक्राउ परेका नवराज चालिसेको साथबाट सशस्त्र प्रहरी सहायक हवल्दारको परिचयपत्र र रूपेश घर्ती मगरको साथबाट सशस्त्र प्रहरी परिचरको नियुक्तिपत्रसमेत फेला परेको छ।
पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइएको प्रहरीले जनाएको छ।
प्रकाशित: २१ कार्तिक २०८३ ०७:५६ शनिबार



