समाज

मकवानपुर जिप दुर्घटना : घाइते न्यायाधीशसहित ४ जनालाई सैनिक अस्पताल ल्याइयो

मकवानपुरको भीमफेदीमा जिप दुर्घटनामा घाइते भएका ६ जनामध्ये न्यायाधीश गोकर्ण डाँगीसहित ४ जनालाई सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ।

नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश  डाँगीसहित चार जनालाई वीरेन्द्र सैनिक अस्पताल छाउनी ल्याइएको हो।

मंगलबार बिहान करिब ७ बजे काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ५०–६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको थियो।

दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट ट्राफिक प्रहरीसहित सात जनाको टोली घटनास्थलमा खटिएको थियो।

दुर्घटनामा न्यायाधीश डाँगी, रजिष्टार बैतडी दशरचन्द–७ सुर्कालका ५१ वर्षीय तारादत्त बडु, ४९ वर्षीया लक्ष्मी बडु, २५ वर्षीय रितेन्द्र बडु, ३१ वर्षीया रिता बडु र चालक राप्ती–८ का ३२ वर्षीय छुनिलाल चौधरी घाइते भएका थिए।

उनीहरुमध्ये रजिस्ट्रार बडु र चालक चौधरीबाहेक बाँकी ४ जनालाई सेनाको हेलिकोप्टरमार्फत छाउनी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २ भाद्र २०८३ ११:१८ मंगलबार