मकवानपुरको हेटौंडामा कारको चारवटै ढोकाभित्र फल्स बटम बनाएर लुकाइएको १४ किलो १८० ग्राम चाँदीजस्तो देखिने धातुसहित चार जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको रक्सोल निवासी कार चालक करिब ५० वर्षीय रमेश कुमार साह सोनार, उनकी ४२ वर्षीया श्रीमती चन्दा देवी सोनार, १७ वर्षीय छोरा र करिब २० वर्षीया भान्जी नन्दनी कुमारी साह रहेका छन्।
प्रहरीका अनुसार आइतबार दिउँसो करिब ३:१५ बजे हेटौंडा उपमहानगरपालिका-१५ स्थित रातोमाटे चेकपोइन्ट नजिक भारतको रक्सोलबाट काठमाडौं आउँदै गरेको बा २ च ७०७९ नम्बरको कार रोकेर जाँच गरिएको थियो। जाँचका क्रममा कारका चारवटै ढोकाको भित्री भागमा विशेष संरचना बनाएर धातु लुकाइएको अवस्थामा फेला परेको हो।
बरामद धातुको शुद्ध तौल १४ किलो १८० ग्राम रहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आशंकामा कारमा सवार चारै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ।
बरामद धातु वास्तविक चाँदी हो वा अन्य कुनै धातु भन्ने पुष्टि हुन बाँकी छ। प्रहरीले त्यसको प्रकृति, स्रोत र घटनासम्बन्धी अन्य विवरणबारे अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित: ९ कार्तिक २०८३ ०७:३१ सोमबार