समाज

काठमाडौंसहित देशका विभिन्न स्थानमा ५ जना मृत फेला

काठमाडौंको बाँसबारीस्थित खानेपानी प्रशोधन केन्द्रको ट्याङ्कीभित्रसहित देशका विभिन्न जिल्लामा पाँच जना मृत अवस्थामा फेला परेका छन्। काठमाडौं, रुपन्देही, ताप्लेजुङ, चितवन र सिन्धुपाल्चोकमा उनीहरू मृत फेला परेका हुन्।

काठमाडौं महानगरपालिका–३ बाँसबारीस्थित काठमाडौं उपत्यका खानेपानी बाँसबारी प्रशोधन केन्द्रको पानी ट्याङ्कीभित्र अन्दाजी ३५ वर्षीय पुरुष मङ्गलबार मृत फेला परेका छन्। मृतकको नाम, थर र वतन खुल्न नसकेको प्रहरीले जनाएको छ।

यसैगरी, रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ ठुलो मझगावा बस्ने ४० वर्षीय महेन्द्र हरिजन र चितवनको खैरहनी नगरपालिका–४ श्रीकृष्ण टोल बस्ने ७६ वर्षीय लक्ष्मण श्रेष्ठ आफ्नै घरमा मङ्गलबार मृत अवस्थामा फेला परेका छन्।

त्यस्तै, ताप्लेजुङको फुङलिङ नगरपालिका–८ नाम्लेपाटी बस्ने ५९ वर्षीया कृष्ण कुमारी पालुङवा घर नजिकै रहेको अम्लिसो घाँसको डिलमा मङ्गलबार मृत फेला परेकी छिन्।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ घुमाउने डाँडास्थित सुनकोशी नदीमा बलेफी गाउँपालिका–१ बस्ने ५२ वर्षीय खड्ग बहादुर थापा सोमबार मृत अवस्थामा फेला परेका छन्।

फेला परेका सबै शवहरूको सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २३ असार २०८३ १९:१८ मंगलबार