समाज

पूर्वमेयर सिंहको मृत्यु शंकास्पद: किन गएका थिए जंगल ? कसरी भयो निधन ?

कपिलवस्तु नगरपालिकाका पूर्वमेयर ६५ वर्षीय किरण सिंहको रहस्यमय अवस्थामा ज्यान गएको छ।

गत शुक्रबार दिउँसोदेखि गोरुसिंगे जंगलमा बेपत्ता भएका सिंहको शव आइतबार मध्याह्न १२ बजे झाडीमा लुकेको अवस्थामा फेला परेपछि उनको मृत्युलाई शंकास्पद मानिएको छ।

व्यावसायिक साझेदारीको सिलसिलामा जंगल पुगेका उनी कसरी र किन सम्पर्कविहीन बने भन्ने विषयले धेरै प्रश्न उब्जाएको छ।

शुक्रबार दिउँसो १:३० बजे कपिलवस्तु नगरपालिका-३ देवनगढीयास्थित घरबाट निस्किएका सिंह ढेकहरी वन क्षेत्रमा साझेदारीमा व्यावसायिक फार्म सञ्चालनको तयारीका लागि जंगल गएका थिए।

दिउँसो साढे २ देखि ३ बजेको बिचमा उनले फार्मका साझेदार अशोक चाईलाई फोन गरी आफू जंगलमा हराएको र खोज्न आउन आग्रह गरेका थिए। चाईले मोटरसाइकल छाडेर हिँडेर आउन भनेका थिए। तर, सिंह नभेटिएपछि चाईले चेत्रेदेई सिंह तिलौराकोट साझेदारी वनका कोषाध्यक्ष बलराम तिवारीलाई खबर गरे।

तिवारीले कपिलवस्तु–१ का वडाध्यक्ष जाहिद खालाई जानकारी गराएपछि वडाध्यक्ष खाले साढे ५ बजे सिंहलाई फोन गरेका थिए। फोनमा आत्तिएका सिंहले आफूले बाटो बिराएको भन्दै बचाउन आग्रह गरेका थिए।

लगत्तै इलाका प्रहरी कार्यालय गोरुसिंगेले फोन गर्दा पनि सिंहले बचाउन याचना गरेका थिए। साँझ ६ बजेपछि उनी सम्पर्कविहीन भए। राति १२ बजेसम्म फोनको रिङ गए पनि कसैले उठाएन।

सिंहले प्रयोग गर्ने मोटरसाइकल जंगलको करिब १ किलोमिटर भित्र फायरलाइन क्षेत्रमा वनपाले हनुमान यादवले फेला पारेका थिए। प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी र शनिबार तालिमप्राप्त कुकुर समेत प्रयोग गरेर खोजी गर्दा पनि उनी भेटिएका थिएनन्।

आइतबार मध्याह्न बैकुण्ठपुरका गाउँलेले मोटरसाइकल भेटिएको स्थानभन्दा करिब ७०० मिटर पर खोल्सापारिको बाक्लो झाडीमा शव देखेएपछि प्रहरीलाई खबर गरेका थिए।

घटनास्थलबाट सिंहको पर्स, हेलमेट र मोटरसाइकलको साँचो समेत बरामद भएको प्रहरी निरीक्षक दीपक कुँवरले जानकारी दिए। शवलाई पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक (एसपी) मनोहर भट्टले शव गन्हाइसकेको अवस्थामा भेटिएको तर शरीरमा तत्काल बाहिरी चोटपटकको निसानी नदेखिएको बताए। ‘घटनाको सूक्ष्म अनुसन्धान भइरहेको छ, पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको वास्तविक कारण खुल्नेछ,’ एसपी भट्टले भने।

२०७४ देखि २०७९ सम्म नेपाली कांग्रेसका तर्फबाट कपिलवस्तु नगरपालिकाका मेयर रहेका सिंह २०३९ र २०६४ सालमा उपमेयर समेत बनेका थिए। उनका श्रीमती र दुई छोरा छन्।

नेपाली कांग्रेस केन्द्रीय कार्यालय र जिल्ला कार्यसमिति कपिलवस्तुले छुट्टाछुट्टै शोक विज्ञप्ति जारी गर्दै सिंहप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

पूर्व महासमिति सदस्य समेत रहेका सिंहको शंकास्पद मृत्युबारे गहन र निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न कांग्रेसले माग गरेको छ। यसैबिच, पूर्वमेयरको निधनमा कपिलवस्तु नगरपालिकाले साउन २५ गते नगरभरि शोक बिदा दिने निर्णय गरेको छ।

प्रकाशित: २४ श्रावण २०८३ १९:३५ आइतबार