समाज

पूर्वश्रममन्त्रीद्वय कुँवर र यादवसहित ६ जनालाई ४ दिन म्याद थप

मलेसिया जाने कामदारलाई अतिरिक्त शुल्कका नाममा ठगी गरेको आरोपमा पक्राउ परेका पूर्वश्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित ६ जनालाई जिल्ला अदालत काठमाडौंले बिहीबार चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मलेसिया जाने करिब साढे सात लाख कामदारसँग साढे दुई अर्ब रुपैयाँ असुलिएको खुलेको छ। उक्त रकममध्ये १ अर्ब ६९ करोड २ लाख २४ हजार रुपैयाँ श्रम मन्त्रालयका उच्चपदस्थको सहयोगमा बैंकिङ प्रणालीबाटै मलेसिया पठाइएको भेटिएको छ।

सीआईबीले कुँवर र रायलाई बुधबार पक्राउ गरेको थियो। त्यस्तै, तत्कालीन श्रमसचिव विनोद केसी, सहसचिवद्वय राजीव पोखरेल र उमेश ढुंगाना तथा उपसचिव निर्मला गुरुङ पनि पक्राउ परेका थिए।

तत्कालीन श्रमसचिव एकनारायण अर्यालविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।

मलेसिया र नेपाल सरकारबीच भएको सम्झौताको अपव्याख्या गरी कामदारसँग मेनपावर कम्पनीले अतिरिक्त शुल्क उठाएको र उक्त रकम आपसी गठजोडमा मलेसिया पठाइएको आरोप उनीहरूविरुद्ध छ।

प्रकाशित: ३ मंसिर २०८३ २०:२४ बिहीबार