बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँका छोरा दीक्षान्त बानियाँ बैंकिङ कसुरको आरोपमा पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई सोमबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४, भैरहवाबाट पक्राउ गरेको हो। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१८ निवासी बानियाँविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत अनुसन्धान भइरहेको छ।
नेपाल राष्ट्र बैंकको पत्रसहितको जाहेरीका आधारमा नेपाल सरकार वादी र दीक्षान्त बानियाँ प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन, हरिहरभवनबाट पक्राउ अनुमति लिइएको थियो।
सोही अनुमतिका आधारमा सीआईबीले उनलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका बानियाँलाई अदालतबाट चार दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। उनीमाथि बैंकिङ कसुरसँग सम्बन्धित विषयमा थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।
प्रकाशित: १७ कार्तिक २०८३ २०:३२ मंगलबार