घरबाटै पक्राउ परेका पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई छाडिएको छ। शनिबार मध्यराति पक्राउ परेका जबरालाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
यसअघि, उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रमुख (एसएसपी) सन्तोष खड्काले सुरक्षा थ्रेटका कारण जबरालाई प्रहरीको निगरानीमा राखिएको बताएका थिए।
जबरामाथि आक्रमण हुनसक्ने आपत्कालीन सूचना आएपछि तत्काल सुरक्षाका लागि उनलाई प्रहरीको निगरानीमा ल्याइएको उनले बताए। उनले भने, ‘यो साँच्चै पक्राउ होइन। उहाँको विषयमा अलिकति थ्रेट भन्ने कुराहरू आयो। उहाँको सुरक्षाका लागि मात्रै हामीले ल्याएको हो। पक्राउ होइन।’
जबरालाई भेट्न भनेर कार्यालय पुगेको मानव अधिकार आयोगको टोलीलाई पनि प्रहरीले भेट्न नदिइ यसै फर्काएको थियो।
उनी २०७५ पुस १७ गते प्रधानन्यायाधीश बनेका उनीविरुद्ध २०७८ फागुन १ गते महाअभियोग दर्ता भएको थियो। त्यसपछि उनी निलम्बनमा परेका थिए।
प्रकाशित: ११ आश्विन २०८३ १४:४९ आइतबार