पश्चिम नवलपरासीको सुस्तामा नेपाल–भारत सीमाना छुट्याउन प्रयोग हुँदै आएको सिमलको रुख ढलेको छ। सुस्तास्थित थारुटोलको ठूलो सिमलको रुखलाई नेपाल–भारतको सीमा मानिँदै आएको थियो । नारायणी नदीमा आएको बाढीले बुधबार राति सीमा स्तम्भको रुपमा प्रयोग हुँदै आएको सिमलको रुख बगाइदिएपछि सीमा विवाद गहिरिने चिन्ता स्थानीयको छ।
नारायणी नदीको किनारमा रहेको सुस्तामा बर्षौदेखि नेपाल भारतबीच सीमा विवाद रहँदै आएको छ। सुस्तामा सीमा स्तम्भ नै नहुँदा सिमलको रुख, कलर्भड, तथा गोरेटो बाटोलाइ नै सीमाना मान्नु पर्ने बाध्यता छ ।
सीमाको बिषयलाई लिएर भारतीय पक्षले पटक पटक दु:ख दिन थालेपछि २०६५ सालमा सुस्तास्थित थारुटोलको सिमलको रुखलाई सांकेतिक सीमा चिन्हको रुपमा मान्ने सहमति भएको सुस्ता बचाउ अभियानका अध्यक्ष आदम खाँले बताए । नेपाल र भारतका जिल्लास्तरका सुरक्षा प्रमुखसहित स्थानीयको सहभागीतामा सिमलको रुखलाइ सीमा छुट्याउने चिन्नको रुपमा प्रयोग गर्ने सहमति भएको थियो । त्यही सहमति अनुसार सुस्ताबासीले आफनो जमिन प्रयोग गर्दा समेत बेलाबखत भारतीय सुरक्षाकर्मीहरुले नेपाली भूभागमा पसेर दु:ख दिँदै आएको गुनासो सुस्ताबासीले गरेका छन् ।
सीमाकै विषयलाइ लिएर भारतीय पक्षले बर्षौदेखि सुस्ताबासीलाई दु:ख दिँदै आएका घटनाहरु बारम्बार दोहोरिहेका छन् । यसपाली नारायणीको कटान रोक्न सरकारले तटबन्धकालागि १४ करोड रुपैयाँ छुट्याएको थियो । सोही योजना अनुरुप सुस्ताको थारुटोलको पुच्छारमा तटबन्ध निर्माण भइरहँदा गत असारमा भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध र्सिजना गरेपछि काम रोकिएको थियो ।
त्यतिबेला तटबन्ध गर्न रोकिएको ठाँउबाटै अहिले नारायणीले कटान गरेको सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले बताए । त्यही बाढीले नेपाल भारत सीमा छुट्याउने चिह्न (स्तम्भ) को रुपमा प्रयोग हुँदै आएको सिमलको रुख पनि बगाइदिएको हो । सीमानाको चिह्न नै बगाएपछि भारतीय पक्षले फेरि दु:ख दिने आशंका स्थानीयको छ।
त्यस्तै नारायणीको कटानले सुस्ताको थारुटोल जलमग्न भएपछि अहिले त्यहाँका ८० घर परिवार अन्यत्र बस्न बाध्य छन् । जयसवालका अनुसार नारायणीले सुस्ताको झण्डै ५० बिगाह जमिन कटान गरिसकेको छ । भाटेकोसीमा बाढी आएका दिनदेखि सुस्ताबासी रातको निन्द्रा हराएको खाँले बताए ।
भारतसंग सीमा जोडिएको नारायणी नदी पारीको गाँउ सुस्तामा २०२२ सालदेखि बस्ती बसेको हो । त्यसअघि भारतीय लुटेरा तथा डाँकुहरुले लुक्न नेपालको यो भूमि प्रयोग गर्ने गरेको बताइन्छ । तत्कालिन समयमा राजा महेन्द्रले भारतीय लुटेराहरुसँग सामना गर्न सक्ने गरी भूपु सैनिकका परिवारसहितको बस्ती बसालेको इतिहास सुस्ताका पाको पुस्ताले सुनाउने गरेका छन् । सुस्ताको क्षेत्रफल ४० हजार ९८० हेक्टर हो । तर भारतीयको अतिक्रमण र नारायणीको कटानकै कारण अहिले ७ हजार हेक्टरमा नेपाली बस्ती साँगुरिएको छ।
प्रकाशित: १८ भाद्र २०८३ २०:४५ बिहीबार