दैलेखको नारायण नगरपालिका–११ स्थित बिष्नेचौर खोलामा अटो तार्ने क्रममा एक व्यक्ति बेपत्ता भएका छन्।
मंगलबार राति करिब ९:४० बजे दैलेख बजारबाट भगवतीमाई गाउँपालिका–५ बेस्तडातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ह १७४८ नम्बरको अटो बिष्नेचौर खोला तर्ने क्रममा घटना भएको हो।
अटो चालक भगवतीमाई गाउँपालिका–५ कट्टी निवासी करिब ३० वर्षीय कमल नेपालीले अटो खोला तार्न खोजेका थिए। सो क्रममा सोही ठाउँका करिब २८ वर्षीय टंक मगरले कर्णाली प्रदेश ०२–००१ च ०९०७ नम्बरको पिकअप डबल क्याप रोकेर अटो तार्न सहयोग गर्ने क्रममा खोलाले अटालाई बगाएको बताइएको छ।
प्राप्त सूचनाअनुसार अटो सडकबाट करिब १० मिटर तल खोलामा पुगेको छ भने पिकअप चालक टंक मगर पनि बेपत्ता भएका छन्। घटनापछि अटो चालक कमल नेपाली भने फरार रहेको प्रहरीले जनाएको छ।
बेपत्ताको खोजीका लागि अस्थायी प्रहरी पोस्ट लोहोरेबाट प्रहरी खटिएको छ।
प्रकाशित: ९ भाद्र २०८३ १२:१८ मंगलबार