समाज

रसुवामा बाढी, स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा ठूलो क्षतिको आशंका

रसुवामा भोटेकोशी नदीमा आएको बाढीले स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा ठूलो क्षतिको आशंका गरिएको छ। बाढीका कारण नदी आसपासका क्षेत्रमा जोखिम बढेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले जानकारी दिएका छन्।

अधिकारीका अनुसार भोटेकोशी नदीमा पानीको बहाव उच्च रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। बाढीका कारण स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक जानकारी आए पनि क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए।

भोटेकोशीमा पानीको बहाव उच्च रहेकाले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानमा रहन र नदी तथा खोला किनारमा नजान स्थानीय प्रशासनले अनुरोध गरेको छ।

बाढीको अवस्था र क्षतिको थप विवरण संकलन भइरहेको छ।

प्रकाशित: १० भाद्र २०८३ ०९:४९ बुधबार