उत्तरी गोरखास्थित बूढीगण्डकी र थेराङ खोलामा आएको भीषण बाढीले दुईवटा पुल बगाएपछि मनास्लु पदमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
पदमार्ग अवरुद्ध भएसँगै जिल्ला प्रशासन कार्यालय गोरखाले अर्को सूचना नआएसम्मका लागि मनास्लु पदमार्ग र लार्केपास यात्रामा तत्काल रोक लगाएको छ।
शरदकालीन पर्यटकीय सिजन सुरु हुनै लाग्दा पदमार्ग टुटेपछि लार्केपासतर्फ निस्किएका सयौं पर्यटक बीच बाटोमै अलपत्र परेका छन्।
पर्यटन विभागका अनुसार यस सिजनमा ३२ टोलीका ३६७ आरोहीले हिमाल आरोहणको अनुमति लिएकामा मनास्लुका लागि मात्रै २९ टोलीका ३४८ आरोही छन्। बाढीले पुल बगाएपछि मनास्लु आरोहण र पदयात्रा तालिका नराम्ररी प्रभावित बनेको छ।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै यात्राको तयारीमा रहेका वा यात्रामा निस्किसकेका सबैलाई थप सूचना नआएसम्म यात्रा नगर्न र नगराउन आग्रह गरेको छ।
बाढीले ठूलो भौतिक संरचना ध्वस्त पारे पनि हालसम्म कुनै मानवीय क्षति भने नभएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।
मनास्लु संरक्षण क्षेत्रअन्तर्गत पर्ने चुमनुब्री गाउँपालिका-४, नाम्रुङस्थित खोलाहरूमा शुक्रबार बिहान बाढी उर्लिएको थियो।
बाढीले दुईवटा पुलसँगै स्थानीय दुईवटा लघुजलविद्युत् आयोजनासमेत बगाएर लगेको छ। जलविद्युत् बगेपछि त्यस क्षेत्रमा विद्युत्, इन्टरनेट तथा सञ्चार सेवा पूर्ण रूपमा ठप्प बनेको छ।
गाउँको दुवैतर्फका पुल बगेपछि स्थानीय र पर्यटक गाउँमै थुनिएका छन्। ‘बाढीपहिरोले हामीलाई चरम सङ्कटमा पार्यो,’ नाम्रुङका स्थानीय लाक्पा डुन्डुप भन्छन्, ‘गाउँबाट तल जाने पुल पनि लग्यो, माथि जाने पुल पनि बगायो। अहिले कतै आउजाउ गर्न सकिने अवस्था छैन।’
-रासस
प्रकाशित: २१ भाद्र २०८३ १५:५५ आइतबार


-600x400.jpg)
