रसुवाको टिमुरेदेखि नुवाकोटको त्रिशूली बजारसम्मको करिब ६ हजारभन्दा बढी मानिसको बसोबास रहेको क्षेत्रमा आएको भीषण बाढीले बस्ती, बजार, घर, होटल, पसल, सडक तथा संरचना बगायो ।
यो भीषण बाढीबाट यो समाचार तयार पार्दासम्म ६६९ जनाको शव फेला परेको छ । दुई हजार ३०१ जना घाइतेको उद्धार गरिएको छ । शव फेला परेकामा रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४९, गोरखामा ५४, चितवनमा २४८, तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८, नवलपराशी पश्चिममा ७५ शव फेला परेको नेपाल प्रहरीले जनाएको छ । त्यस्तै रसुवाबाट ६७६, नुवाकोटबाट एक हजार ६२२, धादिङबाट तीन जनाको उद्धार भइरहेको छ । काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेको संख्या १४० रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
१८४ विदेशी पर्यटकको उद्धार हुँदा अझै ४२० पर्यटक सम्पर्कविहीन छन् । नेपाल प्रहरीका २७, त्रिशुली ३ ए जलविद्युत आयोजनाका २१३, ट्रक चालक २३, अरनिको यातायातका बसमा ५४ जना र पासाङल्हामुका माइक्रोबसमा ३० जना चालक र सहचालक सम्पर्कविहीन छन् ।



यसरी बाढी प्रभावित क्षेत्रका करिब ६००० मानिस बसोबास भएको क्षेत्रमा अहिलेसम्म बरामद भएका शव, उद्धार गरिएका घाइते र तथ्यांकमा भएका सम्पर्कविहीनको संख्या भने करिब तीन हजारको संख्यामा मात्र छ । त्यसो भए बाँकी तीन हजार कहाँ छन् ? उनीहरू बाढी मै परे वा सुरक्षित छन् ? उनीहरूको अवस्था के छ ?
प्रभावित क्षेत्रका स्थानीय पालिकामा अध्यावधिक तथ्यांकले बसोबासीको संख्या करिब ६ हजारको हाराहारीमा देखाउँछ । रसुवाको गोसाइकुण्ड गाउँपालिका-२, टिमुरेका कार्यपालिका सदस्य पेमा दोर्जे घलेले पनि अहिले आएको तथ्यांक र वास्ताविकता फरक रहेको दावी गरेका छन् ।
प्राप्त तथ्यांक र हालसम्म भएको उद्धार तथा मृतक फेलाको अवस्थामा पनि ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन छन्। उनीहरूको आवाज अहिले शुन्य छ । बाढीले बस्ती नै बगरमा परिणत गरिदिएका कारण बेपत्ताको खोजी तथा वास्तविक क्षतिको यकिन गर्नसमेत कठिन भइरहेको छ।
प्रभावित क्षेत्रमा स्थानीय बासिन्दामात्रै थिएनन्। हाइड्रोपावरमा काम गर्ने मजदुर, सडक निर्माणमा खटिएका कर्मचारी, होटल तथा व्यापार व्यवसायमा संलग्न व्यक्ति, चालक, सुरक्षाकर्मी, पार्किङ तथा ढुवानीमा काम गर्ने मजदुर र विभिन्न कामका लागि अस्थायी रूपमा बसेका मानिसको संख्या ठूलो थियो। त्यसैले मतदाता नामावली वा स्थायी जनसंख्याका आधारमा मात्रै हराइरहेका मानिसको संख्या यकिन गर्न नसकिने अवस्था छ।
टिमुरेमा मात्रै १५० बेपत्ता
सीमानाका नजिकको प्रमुख व्यापारिक तथा आवागमन केन्द्र टिमुरेमा बाढी आउनुअघि स्थानीय र बाहिरी गरी ठूलो संख्यामा मानिसको बसोबास थियो।
गोसाइँकुण्ड गाउँपालिका–२ का कार्यपालिका सदस्य पेमा दोर्जे घलेका अनुसार टिमुरेको स्थायी जनसंख्या करिब ५५० थियो। करिब १५० घरधुरी रहेको यो बजारमा सडक, सवारी, पार्किङ, व्यापार तथा अन्य कामका लागि बाहिरबाट आएका मानिससमेत गरी करिब दुई हजार मानिस बस्ने गरेका थिए।
बाढीले घर, पसल, कन्टेनर तथा सवारीसाधनसमेत बगाएर टिमुरेलाई बगरमा परिणत गरिदिएको छ। सुरक्षार्थ खटिएका सुरक्षाकर्मी र स्थानीयसमेत बेपत्ता भएका छन्।
केहीलाई उद्धार गरेर काठमाडौं ल्याइएको छ। तर बाढीले बस्तीको संरचना नै ध्वस्त पारेपछि अझै कति मानिस सम्पर्कविहीन छन् भन्ने यकिन हुन सकेको छैन।
.jpg)
रोंगादेखि त्रिशूलीसम्म उस्तै अवस्था
टिमुरेबाट तल रहेको रोंगा क्षेत्रमा हाइड्रोपावरको स्टेसन थियो। त्यहाँ मात्रै करिब ७० जना कामदार कार्यरत थिए। बाढीपछि उनीहरूको अवस्थाबारे पनि यकिन विवरण सार्वजनिक हुन सकेको छैन।
त्यसपछि ठूलो क्षति भएको स्याफ्रूबेँसीमा १०० भन्दा बढी घर थिए। स्थानीयको संख्या करिब ३०० थियो। पालिका भवन, स्वास्थ्यचौकी र प्रहरी चौकीजस्ता संरचना रहेको यस क्षेत्रमा बाहिरबाट आउने पर्यटक तथा अन्य मानिससमेत उल्लेख्य संख्यामा रहने गरेका थिए।
मेलुङमा करिब ८० घर थिए। हाइड्रोपावर र सडक निर्माणमा खटिएका कर्मचारी तथा कामदारसहित पाँच सयभन्दा बढी मानिस त्यहाँ बसोबास गर्दै आएका थिए। २०७२ सालको भूकम्पपछि विस्थापित भएका करिब ३०० घरपरिवारसमेत विगत ११ वर्षदेखि मैलुङ, सल्लेटार, पैरेबेँसी, कैदलेटार र बेत्रावती आसपास अस्थायी रूपमा बस्दै आएका थिए। बाढीले यी अस्थायी रुपमा बसोबास गरेका पनि कहाँ पुर्यायो भन्ने प्रश्न उठाएको छ ।
शान्तिबजारमा करिब ७०–८० घरधुरी र तीन सयको हाराहारीमा मानिस बसोबास गर्दै आएका थिए।
त्यसपछि बेत्रावतीमा १२० भन्दा बढी घरधुरी थिए। स्थानीयबाहेक गोसाइँकुण्ड यात्रामा पुगेका, व्यापार–व्यवसायका लागि आएका र कामका लागि बाहिरबाट बसेका मानिससमेत गरी यहाँ १५ सयदेखि दुई हजारसम्म मानिस रहेको अनुमान छ।
त्यसैगरी त्रिशूली बजारमा मात्रै करिब ६० घर बगेका छन्। व्यापारिक क्षेत्र भएकाले स्थायी बासिन्दाबाहेक काम र व्यवसायका लागि आउने–जाने मानिससमेत गरी यहाँ करिब १५ सय मानिसको बसोबास रहेको अनुमान छ।
.jpg)
कागजमा नभएका मानिस कहाँ खोज्ने ?
बाढीपछिको सबैभन्दा ठूलो चुनौती यही हो। प्रभावित क्षेत्रमा बस्ने सबै मानिस स्थायी बासिन्दा थिएनन्। धेरैजसो कामको सिलसिलामा केही समयका लागि त्यहाँ बसेका थिए। कतिपय होटलमा, कतिपय हाइड्रोपावरमा, कतिपय सडक निर्माणमा, कतिपय सवारी तथा ढुवानीमा र कतिपय व्यापारिक प्रयोजनले त्यहाँ पुगेका थिए।
अहिले परिवार आफ्ना मान्छे खोज्दै प्रहरी, प्रशासन र अस्पताल धाइरहेका छन्। कतिपयले आफन्त सम्पर्कमा नरहेको बताएका छन्। तर बाढीले मोबाइल, घर, कागजात र सम्पर्कका आधारसमेत बगाइदिएको अवस्थामा हराइरहेका मानिसको सूची तयार पार्नु आफैंमा ठूलो चुनौती बनेको छ।
उद्धार भएका, घाइते र मृतक फेला परेकाको संख्या करिब तीन हजारको हाराहारी पुग्दा बाँकी सोही संख्याका मानिस कहाँ छन्?
उनीहरू सुरक्षित छन् ?, आफन्तको सम्पर्कमा आउनमात्र नसकेका हुन् ?, अन्यत्र विस्थापित भए वा बाढीको वेगमा बगे ? खोजी गर्न जरुरी छ ।
सरकारले प्रभावित प्रत्येक बस्तीको बाढीअघि रहेको जनसंख्या र हालसम्म उद्धार, घाइते, मृतक, विस्थापित तथा सम्पर्कमा आएका व्यक्तिको छुट्टाछुट्टै विवरण तयार गर्नुपर्ने देखिन्छ।
स्थानीय तह, प्रहरी, सेना, हाइड्रोपावर कम्पनी, सडक आयोजना, होटल व्यवसायी, यातायात व्यवसायी तथा स्थानीय बासिन्दाबाट छुट्टाछुट्टै विवरण संकलन गरेर ‘को कहाँ थियो र अहिले कहाँ छ?’ भनेर यकीन विवरण खोज्ने बेला भएको छ ।
विशेषगरी टिमुरे, रोंगा, स्याफ्रूबेँसी, मेलुङ, शान्तिबजार, बेत्रावती र त्रिशूली बजारमा बाढीअघि रहेका मानिसको सूची तयार पारेर त्यसलाई उद्धार गरिएका, अस्पताल पुगेका, मृतक र सम्पर्कमा आएका व्यक्तिको विवरणसँग मिलान गर्नुपर्ने आवश्यकता छ।
बाढीले घर र संरचना मात्रै बगाएको छैन। उसले मानिसको सम्पर्क, पहिचान र परिवारसम्म पुग्ने बाटोसमेत बगाएको छ। त्यसैले बगरमा बाँकी रहेका भग्नावशेषसँगै अब राज्यले हराएका मानिसका पदचाप पनि खोज्नुपर्ने अवस्था आएको छ।
प्रकाशित: १३ भाद्र २०८३ १७:३३ शनिबार



