भरतपुरका रामबहादुर भण्डारी राम्रोसँग नसुतेको तीन दिन भइसक्यो । नारायणी नदीमा कतिखेर बाढी आएर ठुलो क्षति हुने हो भन्ने डर भण्डारीमा भइरहेको छ । नदीमा लगाइएको तटबन्ध चार दिनअघि बाढीले भत्काएपछि नदी बस्ती पस्ने डरले उनी सुत्न नसकेका हुन् ।
‘तीन दिन भयो । वडाध्यक्ष र म राती १२ बजेसम्म नारायणी किनारमा बस्न थालेको ’भरतपुर महानगरपालिकाका सरसफाइ सहजकर्ता समेत रहेको भण्डारीले भने ‘भरतपुर–२६ स्थित सिसईमा लगाएको तटबन्ध भत्किँदा त्यसभन्दा मुनिको बस्ती नै जोखिममा परेको छ ।’
यसपटक नारायणीमा त्यति ठुलो बाढी आएको छैन । यद्यपि भरतपुर महानगरपालिका–२६ स्थित सिसईमा दुई वर्षअघि लगाइएको तटबन्ध बाढीले भत्काएको वडाध्यक्ष ज्ञानप्रसाद खनालले जानकारी दिए । उनका अनुसार बाढीले सय मिटरभन्दा बढी तटबन्ध भत्काएको छ । यो क्रम अझै बढ्दो अवस्थामा रहेको उनले बताए । ‘अस्ति जाँदा ५ देखि ७ मिटर जति फुटेको थियो । हिजो जाँदा सय मिटर भत्किएको छ,’ उनले बाढीको अवस्था बताउँदै भने ‘तटबन्ध नहुँदा भन्दा खतरा भएको छ ।’
पहिलेभन्दा गहिरो बनाएर नदीले जमिन खोलेको उनले बताए । उनका अनुसार नदी माथि आउन दुई तीन हात मात्र बाँकी छ । यही अवस्थामा अल्लि ठुलो पानी परेमा नारायणी नदीको तल्लो तटीय क्षेत्र डुबानमा पर्ने उनले बताए । ‘यतिखेर नारायणीमा ठुलो बाढी आएको छैन । तै पनि नदीको बहाव घट्ने बेलामा तटबन्ध नै भत्काइदियो,’–उनले भने ।
चार अर्ब ७२ करोडको लगानीमा नारायणी नदीमा २०७९ सालबाट तटबन्ध निर्माण सुरु भएको थियो । अत्यन्त जोखिम रहेको त्यस क्षेत्रमा कंक्रिटको ब्लक, जाली र साना ठूला ढुङ्गा राखेर त्यहाँ तटबन्ध गरिएको थियो । तीन मिटरदेखि चार दशमलव पाँच मिटरसम्म उचाइको तटबन्ध निर्माण भएको थियो । अहिले बाढीले बगाएपछि बगाएको ठाउँ भर्न ज्यादै कठिन भएको वडाध्यक्ष खनालले बताए । ‘हिजो प्रहरी, सशस्त्र प्रहरीसँग मिलेर ग्याभिन भर्ने काम त गरेका थियौँ । ठुला ढुङ्गा नपाएर काम गर्न हैरान छ,’–उनले भने ‘ठेकेदारका काम गर्ने मानिस पनि थोरै छन् । काम गराउन पनि कठिन छ ।’
तटबन्धका लागि आठ टिप्पर ढुङ्गा धादिङको मलेखुबाट ल्याइएको थियो । त्यसले छेऊमा लगाउन पनि नपुगेको उनले बताए । अहिले त्यस क्षेत्रमा जाली लगाउने काम भइरहेको उनले बताए ।
नारायणी तटबन्धको ५ वटा प्याकेज रामघाट–काभ्रेघाट ५ किमी, गाँजीपुर–हिरापुर ५ किमी, सिसई–बेलुवा ५ दशमलव ७ किमी, बेलुवा–मेघौली गोलाघाट ३ दशमलव ५, नारायणी पुलदेखि उत्तरतर्फ ७०० मिटर, सेतीदेवि सामुदायिक वनमा ४०० मिटर, मझुवा खण्डमा ४६० मिटर गरी २१ किमी तटबन्ध भएको छ । यसले गत वर्षको ठुलो बाढी धानेको थियो ।
भरतपुरको ९ वटा वडा १, ३, ४, १६, १७, १८, २६, २७ र २८ हुँदै नारायणी नदी बग्ने गर्दछ । नारायणी नदीका जोखिम स्थानहरूमा तटबन्धको कार्य सम्पन्न भइसकेको नारायणी नदी नियन्त्रण कार्यालयका सिनियर डिभिजन इन्जिनियर प्रकाश लम्सालले जानकारी दिए । अहिले नदीले कटान गरिरहेको स्थानहरूमा मर्मतको काम भने भइरहेको उनको भनाइ छ । पुलचोकदेखि गोलाघाटसम्म ३५ किमी रहेको छ । तटबन्धको कार्य भरतपुरसँगै नवलपुरमा पनि भइरहेको छ ।
प्रकाशित: ८ भाद्र २०८२ १७:२९ आइतबार