मकवानपुरको मनहरीमा घरको भर्याङबाट लडेर गम्भीर घाइते भएका पाँच वर्षीय एक बालकको उपचारका क्रममा मृत्यु भएको छ।
मनहरी गाउँपालिका-९ ज्यामिरे बस्ने राज कुमार स्याङबोका पाँच वर्षीय छोरा पेमा स्याङबोको बिहीबार दिउँसो उपचारका क्रममा चितवनमा मृत्यु भएको हो।
प्रहरीका अनुसार बिहीबार बिहान करिब १० बजे आफ्नै घरको भर्याङबाट लडेर बालक गम्भीर घाइते भएका थिए। घाइते नातिलाई उनका हजुरबुवा छबिलाल स्याङबोले तत्काल उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर, चितवन पुर्याएका थिए।
दिउँसो १२:१५ बजे अस्पताल पुर्याइएका बालकलाई उपचारकै क्रममा चिकित्सकले १२:२८ बजे मृत घोषणा गरेका थिए।
घटनाको प्रारम्भिक मुचुल्का सम्पन्न गरी शवलाई पोस्टमार्टमका लागि भरतपुरस्थित सरकारी अस्पतालमा पठाइएको छ।
घटनाबारे दिउँसो १:२० बजे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक सुर्य प्रकाश भट्टको नेतृत्वमा सोको टोली घटनास्थलमा खटिएको छ।
घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित: ८ आश्विन २०८३ १५:५७ बिहीबार