सोमबार देशका चार जिल्लामा भएका छुट्टाछुट्टै पाँच सवारी दुर्घटनामा एक भारतीय नागरिकसहित ६ जनाको मृत्यु भएको छ। सिन्धुलीमा दुई तथा रौतहट, महोत्तरी र बारामा एक-एक दुर्घटना हुँदा अन्य तीन जना घाइते भएका छन्।
सबैभन्दा बढी मानवीय क्षति रौतहटको दुर्घटनामा भएको छ। राजदेवी नगरपालिका-१ मोतिपुरस्थित सडकमा झुनखुनवाबाट मोतिपुरतर्फ जाँदै गरेको म.प्र.०३-०४२ प १४२९ नम्बरको स्कुटर सोमबार दिउँसो दुर्घटना हुँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा गुजरा नगरपालिका-७ का २५ वर्षीय सुनिल हजरा र भारत जमुआ टोल घर भएका १८ वर्षीय अनिकेत पसवान रहेका छन्।
प्रादेशिक अस्पताल गौरमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो। स्कुटरमै सवार अन्य दुई घाइतेमध्ये एक जनाको सोही अस्पताल र अर्का एक जनाको एनएमसि नेशनल मेडिकल कलेज वीरगंजमा उपचार भइरहेको छ।
यस्तै, सिन्धुलीमा सोमबार दिउँसो भएका दुई अलग दुर्घटनामा दुई जनाको ज्यान गएको छ। कमलामाई नगरपालिका-९ सुकेखोलामा बागमती प्रदेश०२-०६४ प ०७९५ नम्बरको मोटरसाइकल र बा.५ ख ६९९८ नम्बरको हायस एक-आपसमा ठोक्किँदा मोटरसाइकल चालक सप्तरी सुरूङ्गा नगरपालिका-७ का २० वर्षीय अभिशेक चौधरीको मृत्यु भएको छ।
जिल्ला अस्पताल सिन्धुलीमा उपचारका क्रममा उनको मृत्यु भएको र हायस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी सिन्धुलीकै हरिहरपुरगढी गाउँपालिका-३ तिनकुनामा सिन्धुलीबाट चितवनतर्फ जाँदै गरेको बा.१८ च ७७४१ नम्बरको कार दुर्घटना हुँदा कारमा सवार चितवन रत्ननगर नगरपालिका-३ टाँडीकी ४४ वर्षीया निशम रिजालको मृत्यु भएको छ।
चितवन मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको र घाइते कार चालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
महोत्तरीको बर्दिबास नगरपालिका-३ बिष्ट टोलमा सोमबार राति पिकअप गाडीको ठक्करबाट ८० वर्षीया वृद्धाको मृत्यु भएको छ।
बर्दिबास बजारबाट पाटुतर्फ जाँदै गरेको बा.प्र.३-००१ च ०९३४ नम्बरको पिकअपको ठक्करबाट गम्भीर घाइते भएकी स्थानीय दिव्या कुमारी बिष्टको जनसेवा अस्पताल बर्दिबासमा उपचारका क्रममा मृत्यु भएको हो। फरार रहेका पिकअप चालकको प्रहरीले खोजी गरिरहेको छ।
बाराको निजगढ नगरपालिका-११ बम्जन टोलमा सोमबार साँझ रतनपुरदेखि कोहल्वीतर्फ जाँदै गरेको म.प्र.०३-०४१ प ००४१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार कोहल्वी नगरपालिका-७ दोधर्पाका २४ वर्षीय राहुल सहनीको मृत्यु भएको छ।
गण्डक अस्पताल पर्सामा उपचारका क्रममा उनको मृत्यु भएको र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित: १ मंसिर २०८३ १६:०० मंगलबार