देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी पछिल्लो २४ घण्टामा पाँच जनाको मृत्यु भएको छ भने १२५ जना घाइते भएका छन्। दुर्घटनामा परी कोशी प्रदेशमा एक, मधेशमा एक, बागमतीमा एक, गण्डकीमा एक र लुम्बिनी प्रदेशमा एक जनाको मृत्यु भएको हो।
मोरङको कानेपोखरी गाउँपालिका ७ आइतबारे चोकस्थित सडकखण्डमा प्रदेश १–०२–०४६ प ९१६० नम्बरको मोटरसाइकलले पैदलयात्री ७० वर्षीया तामाङलाई ठक्कर दिँदा उनी घाइते भएकी थिइन्। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै, बाराको निजगढ नगरपालिका ७ स्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा निजगढ ९ का ७५ वर्षीय चन्द्रबहादुर श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको छ।
मकवानपुरको भीमफेदी गाउँपालिका ६ जुरिखेतमा स्कारपियो सडकबाट करिब ६० मिटर तल खोल्सामा खस्दा बैतडी दशरथचन्द नगरपालिका–७ की ४९ वर्षीया लक्ष्मी बडूलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
मुस्ताङको घरपझोङ गाउँपालिका ८ पुथाङढुंगस्थित जोमसोम–कोरोला सडकखण्डमा टिपरको ढालाबाट खसेर रोल्पा लुङ्ग्री गाउँपालिका ३ का २३ वर्षीय हरिबहादुर पुन घाइते भएका थिए। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
यसैगरी, नवलपरासी पश्चिमको लोस्तास्थित सडकमा साइकलमा युरिया मल लिएर घरतर्फ जाँदै गरेका रामग्राम नगरपालिका ६ का ४५ वर्षीय मुन्सी हजाम साइकलबाट लडेर गम्भीर घाइते भएका थिए। उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।
प्रहरीका अनुसार दुर्घटनामा कोशीमा २८, मधेशमा २६, बागमतीमा १३, गण्डकीमा ९, लुम्बिनीमा १८, कर्णालीमा ९ र काठमाडौं उपत्यकामा २३ जना घाइते भएका छन्।
प्रकाशित: ३ भाद्र २०८३ १०:४९ बुधबार