मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा आज बिहान भएको यात्रुबाहक विद्युतीय गाडी (इभी) दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा गठित समितिले दुर्घटनाको कारण पहिचान गरी एक साताभित्र प्रतिवेदन पेस गर्नेछ।
समितिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्ट, प्रहरी निरीक्षक उमाशङ्कर प्रसाद, प्रदेशको पूर्वाधार विकास कार्यालयका एक इन्जिनियर र बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत सदस्य छन्।
प्रजिअ अधिकारीका अनुसार समितिले सवारी साधनको क्षमताभन्दा बढी यात्रु राखिएको वा नराखिएको, रुट इजाजत, चालकको अवस्था तथा सडकको भौतिक अवस्थाबारे छानबिन गर्नेछ । आगामी दिनमा दुर्घटना न्यूनीकरणका लागि सम्बन्धित निकायले अपनाउनुपर्ने उपाय प्रतिवेदनमा समेटिनेछ।
भीमफेदी–देउराली सडकखण्डमा पछिल्लो १३ महिनामा तीनवटा ठूला दुर्घटना भएको उल्लेख गर्दै उनले सडक सुरक्षामा तत्काल सुधार आवश्यक रहेको बताए।
सवारीसाधनमा लागू गरिएको ‘टाइम कार्ड’ मात्रै दुर्घटना रोक्ने पर्याप्त उपाय नभएको उनको भनाइ छ।
आज बिहान काठमाडौंबाट सर्लाहीतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको इभी सडकबाट करिब ५०० मिटर तल खस्दा दुर्घटना भएको थियो।
प्रहरीका अनुसार दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।
प्रकाशित: २६ कार्तिक २०८३ १६:५७ बिहीबार