सर्लाहीको ईश्वरपुर नगरपालिकामा पिकअप भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किएर आगलागी हुँदा दुई जना नेपाली सेनाका जवानसहित पाँच जना घाइते भएका छन्। घाइतेमध्ये एक सैनिकको अवस्था गम्भीर रहेको छ।
जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार सोमबार बिहान करिब ११ बजे ईश्वरपुर नगरपालिकास्थित रेल्वे ट्रयाक चोकमा बाँके चोकतर्फ जाँदै गरेको प्र.०३-०२८ प २१९१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ८ च ६५ नम्बरको पिकअप भ्यान ठोक्किएका थिए। ठक्करलगत्तै दुवै सवारी साधनमा आगो सल्किएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक नेपाली सेनाको भगवती दल गण, इटहरीमा कार्यरत २३ वर्षीय सिपाही चन्द्रदेव धामी गम्भीर घाइते भएका छन्।
उनको शरीरको ८५ प्रतिशत भाग जलेको छ। सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी सरोज राईका अनुसार धामीको अवस्था अत्यन्तै गम्भीर रहेकाले लालबन्दीस्थित मोडेल अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको छ।
त्यसैगरी, मोटरसाइकलमा पछाडि सवार अर्का सैनिक, नं. २ विपद् व्यवस्थापन गण रसौली, चितवनमा कार्यरत २२ वर्षीय प्रशेस चौधरी र सोही मोटरसाइकलमा सवार २१ वर्षीय अमित चौधरी सामान्य घाइते भएका छन्। उनीहरूको हात र टाउकोमा चोट लागेको छ।
यस्तै, पिकअप चालक हरिवन नगरपालिका–३ का ४० वर्षीय रामएकबाल महतो र पिकअपमा सवार हरिवन–२ का ६५ वर्षीय लेखनाथ उपाध्याय पनि घाइते भएका छन्।
उनीहरूको हात, खुट्टा र टाउकोमा चोट लागेको र सबैको उपचार लालबन्दीस्थित मोडेल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।
डीएसपी राईका अनुसार आगलागीबाट मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएको छ भने पिकअप भ्यानको अगाडिको भाग जलेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित: ३० असार २०८२ १५:३३ सोमबार