समाज

अपर त्रिशूली–१ का पाँच कर्मचारी चार दिन पैदल हिँडेर त्रिशूली आइपुगे

तस्बिर : अभिनास अधिकारीको फेसबुकबाट

रसुवास्थित २१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको निर्माण कम्पनी पावर चाइनाबाट उद्धार गरिएका पाँच जना चार दिनसम्म पैदल यात्रा गरेर त्रिशूली आइपुगेका छन् ।

भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीका कारण सडक तथा यातायात सम्पर्क विच्छेद भएपछि उनीहरू पैदलै त्रिशूलीसम्म आइपुगेका हुन् ।

त्रिशूली आइपुगेका पाँचै जना अहिले अविनास अधिकारीको सम्पर्कमा रहेका छन् । बाढीका कारण प्रभावित क्षेत्रमा अलपत्र परेका उनीहरूलाई उद्धार गरिएपछि सुरक्षित स्थानतर्फ ल्याइएको हो ।

त्रिशूली आइपुगेका पाँच जनामा नवलपरासी–४ का बिनोद श्रेष्ठ, मालिका गाउँपालिका–५ का तेजप्रसाद घर्ती, प्रेमबहादुर पुन र जितबहादुर पुन तथा मंगला गाउँपालिका–५ का तुलबहादुर विक रहेका छन् ।

चार दिनसम्म पैदल हिँडेर त्रिशूली आइपुगेपछि उनीहरू परिवार तथा आफन्तको सम्पर्कमा समेत पुग्ने क्रममा रहेको अधिकारीले उल्लेख गरेका छन् ।  

भोटेकोशी बाढीपछि रसुवा क्षेत्रमा रहेका विभिन्न जलविद्युत् आयोजना तथा निर्माण क्षेत्रमा कार्यरत नेपाली तथा विदेशी नागरिकसमेत प्रभावित भएका छन् । सडक, पुल तथा अन्य पूर्वाधारमा क्षति पुगेका कारण प्रभावित क्षेत्रमा उद्धार गरिएका नागरिकलाई सुरक्षित स्थानमा ल्याउन लामो दूरी पैदल यात्रा गर्नुपर्ने अवस्था देखिएको छ।

प्रकाशित: १४ भाद्र २०८३ १९:३१ आइतबार