समाज

जाजरकोटका १८८ भूकम्प प्रभावितलाई आवास अनुदानको पहिलो किस्ता

जाजरकोटका भूकम्प प्रभावित १८८ लाभग्राहीलाई निजी आवास पुनर्निर्माणका लागि अनुदानको पहिलो किस्ता पठाइएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आवास पुनर्निर्माण सम्झौता गरेका लाभग्राहीलाई पहिलो किस्ताबापत प्रतिघरधुरी ५० हजार रुपैयाँका दरले रकम उनीहरूको बैंक खातामा पठाइएको हो।

‘विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान (दोस्रो संशोधन) कार्यविधि, २०८३’ अनुसार सम्झौता सम्पन्न गरेपछि लाभग्राहीको खातामा आवास अनुदान रकम भुक्तानी गर्ने व्यवस्था छ।

पहिलो किस्ता प्राप्त गरेपछि लाभग्राहीले प्लिन्थ लेभलसम्म आवास निर्माण सम्पन्न गर्नुपर्नेछ। त्यसपछि प्राविधिक जाँच तथा निर्माण सम्पन्न भएको प्रतिवेदनका आधारमा दोस्रो किस्ताको रकम उपलब्ध गराइने प्राधिकरणले जनाएको छ।

१७ कात्तिक २०८० मा जाजरकोट ६ दशमलव ४ रेक्टर स्केलको विनाशकारी भूकम्प गएको थियो। पहिलो चरणमा भेरी नगरपालिका वडा नं. १ का १२० र वडा नं. २ का ६८ गरी जम्मा १८८ घरपरिवारलाई पुनर्निर्माणका लागि लाभग्राही सूचीमा सूचीकृत गरिएको थियो।

प्रकाशित: २१ भाद्र २०८३ ११:१० आइतबार