जनवादी गणतन्त्र चीनको सिजाङ (तिब्बत) प्रान्तको परराष्ट्र मामिला कार्यालयको निमन्त्रणामा आयोजित महिला सम्मेलनमा नेपाल–चीन महिला सहकार्यका बहुआयामिक विषयमा विस्तृत छलफल भएको छ। मङ्सिर ८ देखि १२ गतेसम्म ल्हासा सहरमा सम्पन्न सम्मेलनमा महिला अधिकार, कानुन, स्वास्थ्य, तिब्बती उपचार पद्धति, महिला उद्यमशीलता, पर्यटन, जडीबुटी र हस्तकला विकासका विषयमा दुवै देशका प्रतिनिधिहरूबीच विचार–विमर्श गरियो।
समावेशी नेपाली टोलीमा महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवाली, उपाध्यक्ष सुनिता वैद्य श्रेष्ठ, रासस पत्रकार कालिका खड्का, उद्योग परिसंघ युवा उद्यमी मञ्चकी उपाध्यक्ष निदा डोन मल्ल, ‘ल’ क्याम्पसका सहायक प्राध्यापक डा. विष्णु बस्याल, चीनस्थित नेपाली युवा सदस्यहरू कुन्दन शर्मा र श्रीया गिरी, जेन–जी पुस्ताकी ओजस्वी भट्टराईसहित प्रतिक्षा घले गुरुङ सहभागी रहेका थिए।

उद्यमशीलता र पर्यटनः नयाँ अवसरहरूको पहिचान
महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवालीले भ्रमण अत्यन्त सफल र फलदायी रहेको बताइन्। उनका अनुसार नेपाली उद्यमीका लागि निःशुल्क सीप विकास तालिम, उद्यमशीलता अभिवृद्धि कार्यक्रम तथा पर्यटन, जडीबुटी, कृषि र हस्तकला क्षेत्रमा सहकार्य गर्ने स्पष्ट प्रतिबद्धता चीनतर्फबाट प्राप्त भएको छ। उनले तिब्बती उपचार नेपालका मुस्ताङ, मनाङ, हुम्ला, डोल्पा जस्ता उत्तरी भेगमा अत्यन्त उपयोगी हुन सक्ने उल्लेख गरिन्।
सम्मेलनमा आदिवासी जनजाति आयोगकी सदस्य रीना राना नेपाली प्रतिनिधिमण्डलको नेतृत्वमा सहभागी भइन्। नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्षे यात्रामा महिलामार्फत सुरु गरिएको यो पहिलो औपचारिक सम्मेलन भएको उनले बताइन्। उनका अनुसार सम्मेलनले दुई देशका महिलाबीच मित्रता र सहकार्यका नयाँ मार्ग पहिचान गर्ने महत्वपूर्ण आधार निर्माण गरेको छ।
तिब्बती उपचार पद्धतिमा चासो, नेपालमै तालिम दिने सम्भावना
.jpeg)
नेपाल टोलीले तिब्बती उपचार पद्धतिसम्बन्धी जडीबुटी, परम्परागत विधि एवं स्वास्थ्य परीक्षण प्रक्रियाको नजिकबाट अध्ययन गर्यो। सदस्य रानाका अनुसार तिब्बती पद्धति “सस्तो, सरल र नेपाली आदिवासी उपचार विधिसँग अत्यन्त मिल्दोजुल्दो” भएकाले नेपालमै यसको तालिम कार्यक्रम सञ्चालन गर्नेबारे सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ।
महिला अधिकारदेखि उद्यमशीलतासम्मः सहकार्यका नयाँ आयाम
सम्मेलनमा महिला अधिकार, कानुनी विकास, शिक्षा, स्वास्थ्य, सरकारी सेवा पहुँच, उद्यमशीलता र सामाजिक नेतृत्वका विषयमा गहन छलफल भयो। दुवै देशका प्रतिनिधिबीच अनुभव साटासाट गर्दै सम्भावित सहकार्यका क्षेत्रहरू पहिचान गरियो। सिजाङ वैदेशिक मामिला कार्यालयका उपमहानिर्देशक ओयाङ झिबिङले ७० वर्षे कूटनीतिक सम्बन्धमा महिलामार्फत सुरु भएको यो सहकार्यले नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरे।
.jpeg)
युवा सहभागिताले नयाँ पुस्ताको दृष्टिकोण समावेश
युवा उद्यमी, पत्रकार, कानुन व्यवसायी तथा इन्जिनियरहरूको सहभागिताले सम्मेलनमा नयाँ पुस्ताको विचार र दृष्टिकोण थपिएको छ। चिनियाँ पक्षले नेपालका युवालाई सीप विकास, शिक्षा र प्रविधिमैत्री परियोजनामा सहयोग गर्ने आश्वासन दिएको छ। साथै, नेपाली हस्तकला सामग्री चीनमा लोकप्रिय बन्दै गइरहेको तथ्यले दुवै देशबीच सांस्कृतिक र आर्थिक सहकार्यका ढोकाहरू अझ व्यापक हुने संकेत दिएको नेपाली प्रतिनिधिमण्डलको भनाइ छ।
प्रकाशित: १७ मंसिर २०८२ ०७:३९ बुधबार



