चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोला क्षेत्रमा चलिरहेको कारमा आगलागी भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार अपराह्न करिब ३ः१५ बजे नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइनखोला क्षेत्रमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको कारमा सडक माथिबाट खसेको ढुङ्गा पेट्रोल ट्याङ्कीमा लागेपछि आगलागी भएको हो।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोलीले कारमा लागेको आगो नियन्त्रणमा लिँदै थप क्षति हुनबाट जोगाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रविन्द्र खनालले जानकारी दिए।
आगलागीबाट कारमा आंशिक क्षति पुगेको छ भने घटनामा मानवीय क्षति नभएको खनालले बताए।
प्रकाशित: २४ वैशाख २०८३ १७:१२ बिहीबार