समाज

रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति

रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।

सोमबार बिहान ७ः४५ बजेको समयमा स्थानीय दिपेन्द्र खरेलको काठको दुईतले घरमा विद्युत सर्ट भएर आगलागी हुँदा घरभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागीबारे जानकारी पाएलगत्तै प्रहरी चौकी दुधिअवा, इलाका प्रहरी कार्यालय लक्ष्मिनिया र सशस्त्र प्रहरी बेस विजयपुर लक्ष्मिनिया तथा स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा आउन नसकेपछि बाराको कोल्हवी नगरपालिकाबाट आएको दमकलको सहयोगमा करिब दुई घन्टापछि आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आगलागीबाट घर पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको छ। घरभित्र रहेका इलेक्ट्रोनिक सामान, लत्ताकपडा, फर्निचर, भाँडाकुँडा, करिब २ लाख रुपैयाँ नगद तथा करिब ३ तोला सुनको सिक्री र औँठीसहित १९ लाख १३ हजार रुपैयाँ बराबरको धनमाल जलेर खरानी भएको प्रहरी प्रवक्ता डिएसपी बसन्त गौतमले बताए।

प्रकाशित: २५ श्रावण २०८३ १०:१९ सोमबार