दैनिक उपभोग्य लगायतका सामान खरिद गर्न सीमावर्ती भारतीय बजार जाने उपभोक्ताको संख्या ह्वात्तै घटेको छ । बिहानदेखि साँझसम्म भारतीय बजार ओहोरदोहोर गर्न भीड देखिने धनगढीको त्रिनगर नाका, महेन्द्रनगरको गड्डाचौकी लगायत यहाँका नाका आजभोलि सुनसानजस्तै देखिएका छन् ।
सरकारले झिटीगुन्टासम्बन्धी व्यवस्थाअनुसार भारतबाट नेपाल ल्याउँदा ५ सय रुपैयाँभन्दा बढीका सामान ल्याउँदा भन्सार तिर्नुपर्ने नियम लगाएपछि दैनिक उपभोग्य सामान खरिद गर्न भारतीय बजार जानेको संख्या उल्लेख्य रूपमा घटेको हो ।
सुरुमा १ सय रुपैयाँभन्दा बढीका सामान ल्याउँदा भन्सार तिर्नुपर्ने नियमको देशव्यापी विरोध भएपछि संशोधन गरी ५ सय पुर्याइएको थियो ।
‘यो नाकामा भारततिर ओहोरदोहोर गर्नेको बिहानदेखि साँझसम्म भिडभाड हुने गर्थ्यो, अहिले ८० प्रतिशतभन्दा बढी मानिस घटेका छन्,’ बिहीबार त्रिनगर नाकामा ड्युटीमा रहेका एक प्रहरी हवल्दारले भने, ‘आजभोलि भारतीय बजारमा सामान ल्याउन जाने मानिस घटेर यो नाका सुनसानजस्तै हुने गरेको छ ।’
सीमावर्ती क्षेत्रका बासिन्दा र मजदुरी गरी फर्कनेहरू मर्कामा
सरकारको यो प्रावधानले सीमावर्ती क्षेत्रका आर्थिक अवस्था कमजोर भएका बासिन्दालाई भने मर्का परेको छ । भारतीय बजारमा दैनिक उपभोग्य सामान, लुगा–कपडा लगायतका सामान सस्तो मूल्यमा पाइने भएकाले आर्थिक अवस्था कमजोर भएका स्थानीय बासिन्दाले सीमापारिका बजारबाट सामान ल्याएर समस्या टार्ने गरेका थिए ।
सीमापारिका बजारबाट सामान ल्याउन नपाउँदा दैनिक उपभोग्य लगायतका सामानमा बढी मूल्य तिर्नुपरेकाले घरखर्च बढ्दा विपन्न परिवारका उपभोक्तालाई बढी मर्का परेको छ । बिहे, चाडपर्व लगायत परिवारमा हुने कार्यका लागि भारतीय बजारबाट सस्तो मूल्यमा सामान ल्याउँदा आर्थिक अवस्था कमजोर भएका निम्नवर्गीय परिवारलाई धेरै सहज भएको थियो । यो प्रावधानले समस्या भएको स्थानीय बताउँछन् ।
‘वनगाउँ गएर चाहिएको सामान ल्याउने गर्थें, ५ सयभन्दा बढीको सामान भन्सार नतिरी ल्याउन नपाइने भएपछि हामीजस्तो पैसा नहुनेलाई समस्या भएको छ,’ स्थानीय भागु चौधरीले भनिन् ।
उनीजस्तै यहाँका अधिकांश उपभोक्ता मर्कामा परेको बताउँछन् ।
यसैगरी सुदूरपश्चिमका करिब ७–८ लाख जना भारतका विभिन्न शहरमा मजदुरी गर्ने गरेका छन् । मजदुरी गरेर बिदामा घर आउँदा सामान ल्याउन नपाउँदा समस्यामा परेका छन् ।
‘भारतको सुरतमा मजदुरी गर्थें, घर जान आएको हुँ । बढी सामान ल्याउन पाइँदैन भन्ने सुनेर धेरै सामान ल्याइनँ,’ कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका वडा नं. २ का बासिन्दा सेवकराम चौधरीले भने, ‘३ वटा साडी, ५ प्याकेट नमकिन मात्र ल्याएर आएको छु, अरू केही ल्याउन पाइएन ।’
यसैगरी मुम्बईबाट आएका गोदावरी नगरपालिका–८ का रवि कामीले मजदुरी गरेर घर फर्कँदा घरपरिवारलाई आवश्यक सामान पनि ल्याउन नपाउँदा असहज भएको बताए । ‘नाकामा चेकजाँच गरेर पहिलेजस्तो सामान ल्याउन पाइँदैन भनेकाले हामी आउनेहरूले घरका लागि आवश्यक लुगाकपडा, सरसामान पनि ल्याएर आएनौं,’ उनले भने ।
उनीहरूजस्तै भारतबाट मजदुरी गरेर घर फर्कने व्यक्तिहरूले घरपरिवारका लागि आवश्यक सामान ल्याउन पनि नपाउँदा मर्कामा परेको बताउँछन् ।
धनगढी बजारमा चहलपहल
सीमापारिबाट ५ सयभन्दा बढीको सामान भन्सार तिरेर मात्र ल्याउन पाइने प्रावधानले सीमावर्ती नेपाली बजार भने गुलजार बनेका छन् । बजारमा चहलपहल बढेको छ । दैनिक उपभोग्य सामग्री लगायतका सामान खरिद गर्न भारतीय बजार जान छोडेर स्थानीय बजारबाटै खरिद गर्न थालेकाले धनगढी, महेन्द्रनगर लगायतका सीमावर्ती स्थानीय बजारमा चहलपहल बढेको हो ।
‘सरकारले भारतीय बजारबाट ५ सयभन्दा बढीका सामान भन्सार नतिरी ल्याउन नदिने प्रावधानले यहाँको व्यापार व्यवसायमा सकारात्मक प्रभाव पारेको छ,’ स्थानीय व्यवसायी आवेश चन्दले भने, ‘यसले गर्दा आजभोलि धनगढी लगायत यहाँका बजारमा चहलपहल बढेको छ ।’
मार्ट, किराना पसल, कपडा पसल लगायतमा भिडभाड बढेको उनले बताए । सरकारको यो प्रावधानले स्थानीय व्यापार व्यवसाय बढ्न सहयोग गरेको भन्दै स्थानीय व्यवसायी भने खुसी भएका छन्।
प्रकाशित: ४ असार २०८३ २०:३५ बिहीबार