नेपाल पत्रकार महासंघले सुनसरीलगायत विभिन्न जिल्लामा भएका प्रदर्शन तथा झडपका क्रममा तीन जनाको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र शान्ति कायम राख्न सबै पक्षसँग संयमता अपनाउन आग्रह गरेको छ।
महासंघले ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
जारी विज्ञप्तिमा नेपाल बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक तथा बहुजातीय विविधतायुक्त मुलुक भएकाले विविधताबीचको एकता, सहअस्तित्व र पारस्परिक सम्मान राष्ट्रिय शक्तिको आधार रहेको उल्लेख गरिएको छ।
महासंघले नागरिकको जीवन, सम्पत्ति र मौलिक अधिकारको सुरक्षा सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै राजनीतिक दल, धार्मिक समुदाय, नागरिक समाज, सञ्चारमाध्यम तथा आमनागरिकलाई सामाजिक सद्भाव कायम राख्न जिम्मेवार र संयमित भूमिका निर्वाह गर्न आग्रह गरेको छ।
विज्ञप्तिमा अफवाह, घृणा, विभाजन र हिंसालाई प्रोत्साहन गर्ने अभिव्यक्ति, उत्तेजनात्मक प्रचारप्रसार तथा सामाजिक सञ्जालमार्फत फैलाइने भ्रामक र अपुष्ट सामग्रीको प्रसारबाट टाढा रहन पनि सबै पक्षलाई आह्वान गरिएको छ।
महासंघले असहमति वा विवादको समाधान संविधान, कानुनी प्रक्रिया, संवाद र लोकतान्त्रिक विधिबाट मात्रै सम्भव हुने विश्वास व्यक्त गरेको छ।
महासंघले वर्तमान संवेदनशील अवस्थामा सञ्चारमाध्यम र पत्रकारको भूमिका थप जिम्मेवार र संवेदनशील हुनुपर्ने उल्लेख गर्दै सत्य, तथ्य र सन्तुलित सूचना सम्प्रेषणमार्फत सामाजिक सद्भाव र नागरिक विश्वास अभिवृद्धिमा योगदान पुर्याउन आग्रह गरेको छ।
महासंघले घटनाको निष्पक्ष, स्वतन्त्र र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न, पीडित परिवारलाई उचित राहत, क्षतिपूर्ति र न्याय उपलब्ध गराउन तथा नागरिकको जीवन, सम्पत्ति र संवैधानिक अधिकारको प्रभावकारी सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।
साथै, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र सामुदायिक विश्वास सुदृढ बनाउन संवाद र समन्वयलाई प्रभावकारी रूपमा अघि बढाउन पनि सबै पक्षसँग अपिल गरेको छ।
सुरक्षा व्यवस्थापनका क्रममा मानवअधिकारको सम्मान, कानुनी शासनको पालना तथा न्यूनतम बल प्रयोगको सिद्धान्त अवलम्बन गर्न सरकारलाई ध्यानाकर्षण गराउँदै राष्ट्रिय एकता तथा दिगो शान्तिको पक्षमा योगदान गर्न आह्वान गरेको छ।
प्रकाशित: १५ श्रावण २०८३ ११:५८ शुक्रबार