नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा प्रतिनिधि सभा सदस्य जगदीश खरेलले प्रकाशित समाचारलाई लिएर राजधानी दैनिक पत्रिका बन्द गर्न धम्की दिएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
यही वैशाख २८ गते संसद् बैठकमा बोल्दै पूर्व संचार तथा सूचना प्रविधिमन्त्री खरेलले संवैधानिक हकको ख्यालै नगरी पत्रिका बन्द गर्न धम्की दिनुलाई महासंघले असंवैधानिकमात्र होइन, निन्दनीय र विधायकलाई पटक्कै नसुहाउने व्यवहारका रुपमा लिएको जनाएको छ ।
महासचिव रामप्रसाद दाहालले बुधबार विज्ञप्ती जारी गरेर सत्ताको आडमा विधायकले समाचारको विषयलाई लिएर फौजदारी मुद्दा बनाइ प्रहरीको साइवर व्यूरोमा उजुरी गर्नु पनि आपत्तिजनक कार्य भएको बताएका छन् ।
समाचार सामग्रीप्रति असहमति भए प्रेस काउन्सिल नेपालमार्फत समाधान खोज्न र भविष्यमा प्रेस स्वतन्त्रताविरोधी हर्कत नदोहोर्याउन सम्बन्धित पक्षसँग उनले आग्रह गरे।
यसैगरी बीमापोष्ट डटकममा प्रकाशित समाचार हटाउन काठमाडौं जिल्ला अदालतबाट अन्तरिम आदेश जारी भएकोप्रति महासंघको ध्यानाकर्षण भएको छ ।
उक्त अनलाइनमा २०८२ चैत्र २४ र २६ गते सिएनआइका पूर्वअध्यक्ष विष्णु अग्रवालबाट भ्याट र भन्सार छली भएको भनी प्रकाशित समाचार हटाउन सम्पादकका नाममा अन्तरिम आदेश जारी भएको महासंघ काठमाडौं शाखाले जनाएको छ ।
कुनै पनि समाचारमा चित्त नबुझेमा उजुरी दिने र त्यसको छानबिन गर्ने क्षेत्राधिकार प्रेस काउन्सिल नेपाल भएको भन्दै उनले प्रचलित विधि छलेर समाचार हटाउन विपक्षीको सुनुवाई नै नगरी एकतर्फी आदेश दिएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
यो आदेशमा पुनर्विचार गर्न र प्रेसको संवैधानिक अधिकारको संरक्षण गर्नेतर्फ विशेष ध्यान दिन महासंघले सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
प्रकाशित: ३० वैशाख २०८३ १६:५० बुधबार