विष्णुविक्रम थापालाई आत्महत्या गर्न दुरुत्साहन गर्ने विमला पाण्डेलाई उन्मुक्ति दिएको पीडित परिवारले बताएका छन् ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विष्णुविक्रमका बुबा कमलबहादुर थापाले आफ्नो छोरालाई आत्महत्या गर्न बाध्य पार्नेलाई न्यायालयले उन्मुक्ति दिएको दाबी गरे । प्रहरीले अनुसन्धान नगर्दा आफ्नो छोराले न्याय नपाएको उनको भनाइ थियो ।
‘मेरो छोराको आत्महत्या होइन, हत्या नै हो, किनभने उसलाई बाध्य बनाइयो । आत्महत्या गर्न बाध्य पार्नेलाई प्रहरीले अनुसन्धान नगर्ने र अदालतले त्यसलाई आधार बनाएर उन्मुक्ति दिने । यो अन्याय भयो,’ विष्णुविक्रमका बुबा कमल थापाले भने ।
२०७७ चैत्र ११ गते बौद्ध महांकालमा रहेको डेरामा शव ओछ्यानमा भेटिएको थियो । घटनास्थलमा पुग्ने कविता नेपालका अनुसार विष्णुविक्रमको घाँटी र ओठमा निल डाम थियो ।
विष्णु विक्रमकी दिदी यसोधा थापाले भाइले आत्महत्या गर्नुपर्ने कुनै कारण नभएको दाबी गर्दै सरकार र न्यायालयले न्याय नदिएको गुनासो गरिन् । यसोधाले आफ्नो भाइको फोन प्रहरीले डेढ वर्षसम्म प्रयोग गरेको बताउँदै फेसबुक र इमो अकाण्ट पनि प्रहरीले नै चलाएको दाबी गरिन् । बौद्ध प्रहरीमा उजुरी गरेपछि मात्र भाइको फोन फिर्ता पाएको उनले बताइन् । केटीको मोबाइल, कल डिटेल, सामाजिक संजाललगायततर्फ प्रहरीले अनुसन्धान नगर्दा प्रमाण कमजोर बन्न पुगेको उनको भनाइ छ ।
कार्यक्रममा अभियान्ता आरती रावलले प्रहरीले सही तरिकाले अनुसन्धान नगरेकै कारण पीडितले न्याय नपाएको बताइन् । न्यायका लागि आफूहरू सर्वोच्च अदालत अगाडि धर्ना बस्ने उनको भनाइ थियो ।
अर्की अभियान्ता रेणु पौडेलले अनुसन्धान गर्ने निकाय पहुँच र शक्तिबाट प्रभावित हुने गरेकै कारण पीडितहरू अन्यायमा पर्ने गरेको बताउँदै पिडकलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरिन् ।
जिल्ला र उच्चले आत्महत्या गर्न बाध्य पार्नेलाई सफाइ दिएपछि पीडित परिवारले सर्वोच्च मुद्दा दोहोर्याई पाउँ (दोपा) दर्ता गराएका छन् । यही साउन १६ गते बुबा कमलबहादुरले दर्ता गरेको दोपाको तारेख भदौ २९ गतेलाई राखेको छ । गत असार ३२ गते महान्यायाधिवक्ता रमेश बडालले दोपा नगर्ने निर्णय गरेका थिए । त्यसविरुद्ध पीडित परिवार सर्वोच्च गएको हो ।
आत्महत्या दुरुत्साहन मुद्दामा जिल्ला अदालत काठमाडौँले २०८० कात्तिक १९ विमलालाई सफाइ दिएको थियो । त्यसपछि पीडित उच्च अदालत पुगेको थियो । उच्चले पनि २०८१ फागुन १३ गते जिल्लाकै आदेश सदर गरेको थियो ।
विमलासँग विवाह भएको मात्र ५ महिना १० दिनमा विष्णुविक्रम मृत भेटिएका थिए । विवाह भएको दोस्रो महिनाबाटै उनीहरूको सम्बन्ध बिग्रिएको र त्यसको प्रमाण विष्णुको मोबाइलमा रहेको दाबी आफन्तको छ ।
प्रकाशित: १८ श्रावण २०८२ १६:१५ आइतबार