लगातार दुई दिन परेको साउने झरीसँगै लालबकैया र झाझ (लमहा) खोलामा आएको बाढीले रौतहटका मध्य तथा दक्षिणी भेगका सयौँ बिघा धानखेत डुबानमा परेका छन्।
बोरिङमार्फत सिँचाइ गरी ठूलो लगानी र मेहनतका साथ रोपिएको धानबाली एकै रातको बाढीले जलमग्न भएपछि किसानहरू चिन्तित बनेका छन्।
गत आइतबारदेखि सोमबारसम्म निरन्तर परेको वर्षाको कारण झाझ खोलामा आएको बाढीले दुर्गा भगवती गाउँपालिकाको बडहर्वा, पचरुखी, मत्सरी, पिपरा र भलोहियासहित पाँचै वडा, यमुनामाई गाउँपालिकाका चार वडा तथा माधवनारायण नगरपालिका र गरुडा नगरपालिकाका सयौँ बिघा क्षेत्रफलमा लगाइएको धानबाली डुबानमा परेको स्थानीयले बताएका छन्।
यस्तै बकैया खोलामा आएको बाढीले यमुनामाई गाउँपालिकाको राजपुरतुलसी, जिङ्गडवा, झुन्खुन्वास्थित किसानले लगाएको धानबाली जलमग्न भएर ठूलो क्षति पुर्याएको राजपुरतुलसीका राजदेव मुखियाले बताए। ‘बाढीको पानी रोपाइँ गरेको खेतमै जमेको कारण यस वर्षको उत्पादनमा गम्भीर असर पर्ने,’ मुखियाले भने।
बोरिङबाट सिँचाइ गरेर समयमै रोपाइँ सम्पन्न गरिएको धान अहिले बाढीको पानीमुनि परेको छ। बाढी लामो समयसम्म नघटे धानको बोट कुहिने, उत्पादन घट्ने र लाखौँ रुपैयाँ बराबरको लगानी डुब्ने जोखिम बढेको किसानहरूको भनाइ छ।
रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले पनि झाझ खोलाको बाढीका कारण सयौँ बिघा कृषि भूमि डुबानमा परेको बताए।
प्रभावित क्षेत्रमा नेपाल प्रहरी र स्थानीय प्रशासनले निरन्तर निगरानी गरिरहेको छ। सम्भावित जनधनको क्षति रोक्न उद्धार तथा विपद् व्यवस्थापन टोलीलाई २४ सै घण्टा तयारी अवस्थामा राखिएको प्रजिअ भुसालले बताए।
प्रकाशित: १९ श्रावण २०८३ १८:३२ मंगलबार