देशको चौथो मुख्य बाली कोदोखेती गर्न पहाडी र तराई क्षेत्रका किसानले अरुचि देखाएका छन्। मकैपछिको दोस्रो मुख्य बालीका रूपमा विगतमा पहाडमा खेती हुँदै आएकामा केही वर्षयता ती भेगका किसानले पनि यसलाई खासै महत्त्व दिएकाे छैन।
कुनै समय गरिबको खाना भनेर होच्च्याइएको कोदो र यसबाट बन्ने परिकारको माग हाल शहरबजारमा बढेको छ। कम खर्चमा यसको खेती गर्न सकिने कृषि क्षेत्रका जानकारहरू बताउँछन्। तराईदेखि उच्च पहाडी क्षेत्रसम्म जुनसुकै जलवायुमा कम मलिलो तथा सुक्खा जग्गामा कोदो खेती गर्न गर्न सकिने उनीहरूको भनाइ छ।
कोदोबाट ढिँडो, रोटी, सातु, लिटो, खोले, पुवालगायत परिकार बनाइन्छ। कोदोका परिकार पोषणयुक्त हुन्छन्। खाद्य सुरक्षाका दृष्टिले कोदोलाई महत्त्वपूर्ण बालीका रूपमा लिइन्छ।
चितवनमा अघिल्लो वर्षको तुलनामा यो वर्ष चितवनमा कोदो खेती गर्ने किसानको सङ्ख्या घटेको छ।
कृषि विकास कार्यालयका कृषि अधिकृत उमराज अर्यालकाे अनुसार चितवनमा वार्षिक एक हजार ५० हेक्टरमा कोदोखेती हुँदै आएको छ। इच्छाकामना गाउँपालिका र राप्ती नगरपालिकामा कोदोखेती हुँदै आएकामा हाल त्यहाँ कोदो रोप्ने किसान घटेका छन्। उनले भने, “कोदो ढिलो पाक्ने र लगाउन, थन्काउन झन्झटिलो भएकाले किसानको यसतर्फ ध्यानाकर्षण गराउन सकिएको छैन।”
कोदोखेतीतर्फ भोजपुरका किसानको पनि आकर्षण घटेको पाइएकाे छ। पर्याप्त आम्दानी नहुने भएकाले उनीहरू वैकल्पिक खेतीमा लागेका रामप्रसादराई–६ का किसान राजेन्द्र राईले बताए।
“आम्दानी राम्रो नहुने तथा खेती गर्न झन्झटिलो भएकाले गाउँघरमा व्यावसायिक रूपमा कोदोखेती गर्ने चलन हरायो”,उनले भने।
जिल्लाको छ हजार हेक्टर जमिन कोदोबालीका निम्ति उपयुक्त रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ। स्थानीय बजारमा कोदो प्रतिपाथी १५० देखि १६० रूपैयाँसम्ममा विक्री हुने गरेको छ।
तानसेनमा दश अघिसम्म पाल्पाका गामीण भेगमा कोदोखेती हुने गरेकामा हाल ती क्षेत्रका बारी र टारी बाँझै छन्। कोदोखेतीमा अब्बल मानिएका बगनासकाली र रैनादेवी छहरामा पनि खेती गर्ने घटेका छन्। युवापुस्ता विदेशिने र सहर पस्ने क्रमसँगै कोदोखेती हुन छाडेको हो। यद्यपि जिल्लाका निस्दी, पूर्वखोला र रिब्दीकोट गाउँपालिकाका विभिन्न ठाउँमा कोदोखेती हुने गरेको छ।
पाल्पामा आर्थिक वर्ष २०८०/०८१ मा दुई हजार ३६३ हेक्टर क्षेत्रफलमा कोदोखेती भएकामा आव २०८१/०८२ मा आएर दुई हजार ३४९ हेक्टरमा झरेको कृषि ज्ञान केन्द्रका प्राविधिक सुरज पाण्डेयले बताए। जिल्लाका किसान कोदोको सट्टा फलफूलतर्फ आकर्षित भएका उनले बताए।
- रासस
प्रकाशित: १६ श्रावण २०८२ १०:४६ शुक्रबार