समाज

बारीभरि लटरम्मै किवी पाक्दा किसान रमाए

बारीभरि लटरम्मै किवी पाक्न थालेपछि उत्तरी गोरखाको धार्चे–२ रुञ्चेतका किसानहरू दङ्ग छन्। किवी बेचेर गत वर्ष राम्रो आम्दानी गरेका यहाँका किसान यस वर्ष पनि त्योभन्दा धेरै आम्दानी हुने आशामा छन्।

‘हाम्रो गाउँका १८ जना किसानले व्यावसायिक रूपमा किवी लगाएका छन्’, स्थानीय वीरबहादुर गुरुङ भन्छन्, ‘कसैले एक-दुई रोपनीमा लगाएका छन्। कसैले १२-१३ रोपनीमा पनि लगाएका छन्। 

मैले आठ रोपनीमा लगाएको किवी पोहोर आठ क्विन्टलै बेचेँ। अहिले पनि त्योभन्दा राम्रो भएको छ।’ गाउँका किसानले एक क्विन्टलदेखि १२–१५ क्विन्टलसम्म किवी उत्पादन गर्ने गरेका उनको भनाइ छ।

गाउँमै सबैभन्दा पहिले किवी खेती सुरु गरेका किसान कामीराम गुरुङले पनि दुई रोपनीमा किवी फलाएका छन्। गतवर्ष एक क्विन्टल बेचेको भन्दै उनी यस पटक पनि त्योभन्दा धेरै बेच्ने योजनामा छन्।

हावापानी सुहाउँदो भएकाले विगत आठ वर्षदेखि व्यावसायिक रूपमा किवी खेती गर्न थालेको उनको भनाइ छ।

सुरुका वर्षमा बजारको समस्या भए पनि गत वर्षयता व्यापारीसँग सम्पर्क भएपछि बजारको समस्या छैन। तर बजारसम्म पुर्‍याउने बाटोको भने समस्या भएको कामीराम गुरुङको भनाइ छ। यस वर्ष बेमौसमी वर्षापछिको पहिरोले बाटोको समस्या बनाएको उनको भनाइ छ।

‘यस पटक पहिरोले साह्रै समस्या बनायो। दुई पटकसम्म पहिरो मर्मत गरे पनि गत कार्तिक पहिलो हप्ता परेको वर्षापछिको पहिरोले मर्मत गर्नै नसकिने गरी बाटो बिग्रियो’, उनले भने, ‘डोकोमा बोकेर साध्यै छैन। कसरी बजारसम्म पुर्‍याउने भन्ने समस्या भयो।’

फेज नेपाल नामक संस्थाको सहयोगमा कामीराम गुरुङले २०७४ सालमा लगाएपछि गाउँले त्यसतर्फ आकर्षित भएका थिए। अहिले सबैको बारीभरि किवी लटरम्मै फलेको छ।

किसानको किवी बजारसम्म पुर्‍याउन बाटोको समस्या भएको वडा अध्यक्ष सरोज गुरुङको भनाइ छ। ‘हामीले सडक मर्मत गर्न सकेसम्म पहल गरिरहेका छौँ’, उनी भन्छन्, ‘यसअघि पनि दुई पटकसम्म मर्मत गरेको हो। फेरि पनि बनाउँछौँ।’ रासस

प्रकाशित: ६ मंसिर २०८२ ०६:४६ शनिबार