समाज

किसानको समस्या: रोपाइँ गर्न सिँचाइ छैन, हुर्काउन मल पाइँदैन

जानकी–६, पिप्रहवामा मलका लागि आएका किसान । तस्विरः गणेश/नागरिक

साउनको सुरुतिर खेत खाली थिए । जमिन चर्किएको थियो, हल्का धुलो उडिरहेको थियो, अनि किसानको आँखामा चिन्ता मात्र थियो । पानीको प्रतीक्षामा बर्खा यामको आधा समय बितिसकेको थियो । खेतमा हरियो धानको सपना अझै जमिनमा उम्रन पाएको थिएन । जानकी–६, कराँतिपुरका अनिल पाल बिहान सबेरै खेतमा पुगे पनि रोपाइँ गर्न पाएका थिएनन् । उनी भन्छन्, ‘१० कठ्ठामा धान लगाउने योजना थियो, तर पानी नभएपछि रोपाइँ समयमै हुन सकेन ।’

उनी मात्र होइन, जानकी–६, पिप्रहवाका सन्तप्रकाश यादवले १३ कठ्ठा जग्गा धानका लागि तयार पारेका थिए । खेत तयार थियो, बीउ तयार थियो, तर आकाश त बाटो हेरेर बसिरहेको जस्तो । ‘धेरै वर्षको अनुभव छ, तर यस्तो पानीको कमी हरेक वर्ष बढ्दै गएको महसुस हुन्छ,’ यादव भन्छन् । किसान विष्णु लोध पनि यही पीडामा थिए । बर्खा सुरु भए पनि वर्षा ढिलो भयो, जसका कारण सिँचाइ सुविधा नभएका यी गाउँका किसानहरू आकासे पानीमा भर पर्न बाध्य भए । यस्तै, नजिकैका टोलमा रहेका रामकिशोर साह र शारदा देवी थारुको कथा पनि उस्तै छ । साहले आधा बिगाहा खेतमा धान रोप्ने सोच राखेका थिए, तर समयमै पानी नपाउँदा बालीको गुणस्तरमा असर पर्ने चिन्ता छ । शारदा देवी थारु भन्छिन्, ‘धानको सपना त हरेक वर्ष देखिन्छ, तर प्रकृतिले कहिले साथ दिन्छ, कहिले घुमाउँछ ।’

ढिलो रोपाइँ भए पनि अहिले उनीहरूको खेत हरियाली छ । यी सबै किसानहरूको कथा एउटै धागोले गाँसिएको छ, ‘अभाव र सङ्घर्षको धागो ।’ पानी, मल र बजारको समस्याले उनीहरूको खेतीपातीको यात्रा कठिन बनाएको छ । यी किसानहरूको वर्षभरि खेतीको यात्रा, त्यसमा आउने तीन मुख्य चोट पानी, मल र बजारले नै पिरोल्दै आएको छ । धान खेतीमा समयमै रोपाइँ हुनु अत्यन्त महत्त्वपूर्ण हुन्छ । रोपाइँ ढिलाइ हुँदा बोटको वृद्धि सुस्त हुन्छ, रोगपोको बढ्छ र उत्पादन घट्छ । तर बाँकेका किसानहरूको खेतमा सिँचाइ सुविधा छैन । अनिल पाल भन्छन्, ‘यहाँ ट्युबवेल छैन, नहर छैन । हामी केवल वर्षाको पानी कुर्दै बस्छौँ ।’ यस वर्ष पनि उनीहरूलाई धान रोप्न आकाशबाट पानी झर्ने दिनको पर्खाइ लामो भयो । अन्ततः मध्यम वर्षा हुँदा एकै पटक खेत भिजाएर रोपाइँ गर्न सके ।

यो वर्ष पानीको कमीले मात्र नभई मौसम चक्रमै परिवर्तनले खेतीलाई झन् जोखिममा पारेको छ । सन्तप्रकाश यादवका अनुसार, ‘पहिला असार लाग्दा रोपाइँ सकिन्थ्यो । अहिले त साउनको आधा सकिँदासम्म खेत सुकेकै हुन्छ ।’ धान रोपिसकेपछि अर्को ठूलो चुनौती हुन्छ, ‘मल ।’ विशेष गरी युरिया र डीएपी जस्ता रासायनिक मल यहाँ दुर्लभ वस्तु जस्तै हुन्छ । पार्वती कुर्मी भन्छिन्, ‘धानमा समयमै मल हाल्न पाएन भने बोट राम्रो हुन्न । तर यहाँ मल पाउनु लटरी जितेजस्तो हो ।’ मल वितरणका क्रममा किसानहरू घण्टौँ लाइन बस्छन्, कहिलेकाहीँ त पालो नै आउँदैन । कतिपय किसानहरू बाध्य भएर बजारबाट महँगोमा मल खरिद गर्छन्, जसले खेतीको लागत बढाउँछ । अनिल पालको अनुभव कडिलो छ, ‘खेती गर्ने भन्दा मलका लागि संघर्ष गर्न धेरै समय जान्छ ।’

पानी र मलको कठिनाइ पार गरेर जेनतेन धान फलाउँदा पनि किसानको यात्रा यतिमा टुङ्गिँदैन । धान तयार भएपछि अर्को समस्या सुरु हुन्छ। राज्यले किसानको धान खरिद गर्ने नीति त बनाएको छ, तर समयमै खरिद हुँदैन । सरकारी खरिद सुरु हुँदा धेरै किसानले धान पहिले नै बेचेका हुन्छन्, किनभने लामो समयसम्म भण्डारण गर्न उनीहरूसँग सुविधा छैन । सन्तप्रकाश यादव भन्छन्, ‘धान काटिसकेपछि छिट्टै बेच्नुपर्छ । टाढा नेपालगन्ज लगे ढुवानी खर्च धेरै लाग्छ, त्यसैले नजिकैको मिलमा सस्तोमा बेच्न बाध्य हुन्छौँ ।’ यसरी, उत्पादनको उचित मूल्य नपाउँदा किसानको मिहिनेत र पसिनाको मूल्य घट्छ ।

धान खेतीको यात्रा असारको सुरुतिर सुरु हुन्छ । बीउ छर्ने, खेत तयार पार्ने, रोपाइँ गर्ने, मल हाल्ने, झारपात निकाल्ने, सिँचाइ गर्ने, बालीको रोगपोकासँग लड्ने, अनि अन्ततः असोज–कात्तिकमा भिœयाउने । तर यहाँका किसानको लागि यो यात्रा सुरुदेखि अन्तिमसम्म चुनौतीले भरिएको हुन्छ । पानीको अनिश्चितता, मलको अभाव र बजारको कमजोरीले उनीहरूको खेतीलाई जुवा जस्तै बनाइदिएको छ । स्थानीय किसानहरू भन्छन्, ‘यदि सरकार वा स्थानीय तहले केही आधारभूत सुविधा पु¥याइदिए—जस्तै सिँचाइको लागि सानो नहर, समयमै र पर्याप्त मल आपूर्ति, र नजिकै धान संकलन केन्द्र स्थापना—भने उनीहरूको उत्पादन र आय दुवै बढ्न सक्छ ।’ विकास पाल भन्छन्, ‘हामी मेहनत गर्न तयार छौँ । पानी, मल र बजार मात्र उपलब्ध भए, हामी धान मात्र होइन, अन्य बाली पनि राम्रोसँग फलाउन सक्छौँ ।’

कृषि विज्ञहरूको भनाइमा, ‘यहाँको जस्ता क्षेत्रमा समूहगत सिँचाइ योजना र स्थानीय कृषि सहकारीमार्फत मल वितरण प्रभावकारी हुन्छ । साथै, किसानले उत्पादन बेच्नुपर्ने दूरी घटाउन स्थानीय खरिद केन्द्र स्थापना गर्नु जरुरी छ ।’ यदि यी उपायहरू लागू भए, किसानलाई वर्षेनी झेल्ने तीन–तीरको पीडा घट्न सक्छ, र उनीहरूको पसिना वास्तविक मूल्यमा परिणत हुन सक्छ ।

प्रकाशित: २७ श्रावण २०८२ १७:१८ मंगलबार