भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा किसानको आकर्षण बढ्दै गएको छ। नेपालगञ्ज, कोहलपुर, खजुरा र जानकी गाउँपालिकामा किसानले यो वर्ष व्यावसायिक फूल खेती गरेको फ्लोरी कल्चर एसोसिएसन नेपालकी केन्द्रीय सदस्य तथा नेपालगञ्जकी पुष्प व्यवसायी बिन्दु चर्तीमगरले बताए। नेपालगञ्ज उपमहानगरपालिका–२० निवासी विन्दुले व्यावसायिक फूलखेती गर्न थालेको करिव एक दशक भयो। अन्य समयको तुलनामा तिहारमा फूलको माग धान्नै नसकिने उनको अनुभव छ।
जिल्लामा व्यावसायिक फूलखेती गर्ने किसानको सङ्ख्या बर्सेनि बढ्दै छ। मौसमी बाहेक विवाहमा सजाउन, उपहार दिन, विभिन्न सभा तथा गोष्ठीलगायतमा फूलको प्रयोग बढेपछि फूलको माग बढेको उनले बताए।
“फूलसँग खेल्ने मेरो सानैदेखिको सौख थियो, जिल्लामा फूलको माग धेरै भएकाले मेरो आकर्षण बढ्यो”, बिन्दुले भने, “यो व्यवसाय सुरु गर्दा कम लगानीले पुग्ने र बजार पनि राम्रो भएकाले सुरु गरेँ, आम्दानी सन्तोषजनक छ।”
विन्दुले १० कट्ठा क्षेत्रफलबाट सुरु गरेको फूलखेती हाल दुई बिघा क्षेत्रफलमा फैलिएको छ। सयपत्रीअन्तर्गत टेनिस बल, कलकत्ते र ग्ल्याडोलस जातका फूल लगाएको चर्तिमगरले बताए। स्वेदशी उत्पादनलाई प्रोत्साहन गर्न भारतबाट आउने प्लास्टिकका फूल तथा मालालाई बन्देज लगाउनुपर्ने उनको भनाइ छ।
नेपालगञ्जका तीन युवा सुभाषजङ्ग शाह, कीर्तीराज दीक्षित र सुशीलकुमार मौर्यले बाँकेको नरैनापुर गाउँपालिका–५ मटेहियामा दुई बिघा क्षेत्रफलमा यो वर्षदेखि सयपत्री फूलको व्यावसायिक खेती थालेका छन्।
फरक–फरक पेशा तथा व्यवसायमा आबद्ध उनीहरूले सामूहिक रूपमा गरेको व्यावसायिक फूलखेतीमा अहिले सयपत्री फूल फुलेर ढकमक्क भएको छ । तिहारलाई लक्षित गरी उत्पादन गरिएको सयपत्री फूलको बिक्री सुरु भइसकेको सुभाषजङ्ग शाहले बताए।
“नेपालगञ्जमा फूलको मागलाई लक्षित गरी खेती सुरु गरेका हौँ, चाँडै सहरका मुख्य चोकमा स्टल राखेर फूल तथा माला बिक्री गर्ने तयारी गरिरहेका छौँ,” शाहले भने, “फूल तयार भइसकेको छ, ग्राहकको सुविधाका लागि होम डेलिभरी सेवा पनि दिइरहेका छौँ।”
स्थानीयस्तर मै फूल उत्पादन गरी बजारमा बिक्री गर्नेे प्रयासले तिहारमा बाहिरबाट आउने फूलको विकल्प तयार हुँदै गएको कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी सुजिता शर्माले बताइन्।
निर्वाहमुखी फूल लगाउँदै आएकोमा पछिल्लो केही वर्षयता बाँकेमा व्यावसायिक रूपमा फूलखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको उनले बताइन्।
प्रकाशित: १४ कार्तिक २०८३ ०७:२५ शनिबार