कपिलवस्तुका कृषकहरूले अहिलेसम्म सरकारी निकायबाट केही सहयोग नपाएको गुनासो गरेका छन्।
कृषि ज्ञान केन्द्रले तौलिहवामा राखेको चालु आर्थिक वर्ष २०८३/०८४ को बजेट तथा कार्यक्रम सार्वजनिकरण कार्यक्रममा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सो कुरा बताएका हुन्। उनले आफू जिल्लाका विभिन्न स्थानमा जाने क्रममा अधिकांश कृषकले आफूहरूले अहिलेसम्म केही नपाएको गुनासो गरेको सुनाए।
‘विभिन्न कार्यक्रमको सिलसिलामा जिल्लाका धेरै स्थानमा गएँ, जहाँ पनि कृषकहरूले केही पाएको छैनौँ भन्छन्,’ उनले भने। कृषकहरूको यो गुनासोले समेत सरकारी र निजी स्तरबाट सञ्चालित कार्यक्रमको प्रभावकारीता र उपलब्धीमाथि ठूलो प्रश्न उठेको उनले बताए। कपिलवस्तु कृषि क्षेत्रको दृष्टिकोणले प्रचुर सम्भावना भएको जिल्ला भए पनि कृषि क्षेत्रको विकास सोचअनुरुप नभएको जिकिर उनको थियो। कृषकहरूलाई मलखाद र सिँचाइ आवश्यकताअनुसार दिन नसकेको स्वीकार गर्दै प्रजिअ गौतमले मलखाद र सिँचाइको उचित प्रबन्ध गर्नुपर्ने बताएका छन्। उनले जिल्लाकै पश्चिमी क्षेत्रमा सिँचाइको ठूलो समस्या रहेकोले यसका लागि सबैले पहल गर्नुपर्नेमा जोड दिए। तीनै तहका सरकारको बजेट कार्यक्रम उपलब्धि हुने किसिमले लैजानुपर्ने उनको भनाइ छ।
सो अवसरमा जिल्ला समन्वय प्रमुख बाबुराम आचार्यले कपिलवस्तु कृषि क्षेत्रका लागि प्रचुर सम्भावना भएको जिल्ला भए पनि मलखाद र सिँचाइले गर्दा कृषकहरूले धेरै समस्या झेल्नुपरेको बताए। उनले जिल्लामा वर्षौंदेखि कृषि क्षेत्रका लागि बजेट विनियोजन भए पनि त्यो पर्याप्त नभएको तर्क गरे। उनले कपिलवस्तुको पश्चिमी क्षेत्रका कृषकहरू पूर्णतया आकाशे पानीमा निर्भर रहन बाध्य भएको सुनाए। आचार्यका अनुसार सिँचाइ र मलखादका लागि तीनै तहका सरकारले ठोस पहल गर्नुपर्छ।
विजयनगर गाउँपालिकाका प्रमुख गोपाल थापाका अनुसार सिँचाइ अभावले यस वर्ष आफ्नो पालिकामा ६० प्रतिशत मात्र धान रोपाइँ भएको छ। पानी नपरेकोले रोपेको धान समेत सुक्ने अवस्थामा पुगेको उनको भनाइ छ। थापाले आफ्नो पालिकालाई सुक्खाग्रस्त जिल्ला घोषणा गर्न पालिकाले निर्णय गरी विपद् व्यवस्थापन समितिमा समेत पठाएको सुनाए। उनले सिँचाइको व्यवस्था नहुँदा आफ्नो पालिकाका कृषकहरू मारमा परेको गुनासो समेत गरेका छन्।
कपिलवस्तुमा कृषि क्षेत्रको बजेट साढे १२ करोड
कपिलवस्तुमा आर्थिक वर्ष २०८३/०८४ का लागि तीन कृषि कार्यालयको बजेट १२ करोड ५८ लाख रुपैयाँ विनियोजित गरिएको छ। कृषि ज्ञान केन्द्र, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ तथा पशु तथा भेटेरिनरी अस्पताल विज्ञ केन्द्रको बजेट त्यति हो।
कृषि ज्ञान केन्द्र कपिलवस्तुका लागि चार करोड ६२ लाख ९३ हजार रुपैयाँ, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका लागि चार करोड ५ लाख रुपैयाँ र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइका लागि तीन करोड ९६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। कृषि ज्ञान केन्द्रले कृषि उत्पादन, बजारीकरण, नियमन तथा प्रविधि प्रसारका लागि एक करोड ९५ लाख ८९ हजार रुपैयाँ, केन्द्रतर्फ एक करोड ९२ लाख ४ हजार रुपैयाँ, कृषि विभागको संघीय सशर्त अनुदानतर्फ ४५ लाख रुपैयाँ तथा सहकारी तथा गरिबी निवारण कार्यक्रमका लागि ६ लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ।
त्यस्तै, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइले चेते धान खेती विस्तारका लागि २५ हेक्टर क्षेत्र निर्धारण गर्दै चार लाख रुपैयाँ बजेट छुट्याएको छ। सिँचाइ पूर्वाधार विकास तथा मर्मतसम्भारअन्तर्गत चेते धान प्रवर्द्धन कार्यक्रमका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ। कृषि तथा पशुपन्छी उद्यमशीलता प्रवर्द्धनका लागि ८४ लाख रुपैयाँ, चक्लाबन्दीमा आधारित खेतीमार्फत उत्पादन वृद्धि गर्न १० लाख रुपैयाँ तथा ब्रान्डिङ र अर्गानिक प्रवर्द्धनका लागि १४ लाख रुपैयाँ बजेट स्वीकृत गरिएको छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पशुपन्छी उत्पादन, बजारीकरण, नियमन तथा प्रविधि प्रसारलगायतका कार्यक्रम सञ्चालन गर्न चार करोड ५ लाख रुपैयाँ बजेट प्रस्तुत गरेको छ। कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख घनश्याम चौधरी, कृषि आधुनिकीकरण एकाइका वरिष्ठ कृषि अधिकृत राकेशकुमार ओझा तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलवस्तुका प्रमुख डा. सुकईप्रसाद थारुले आगामी योजना तथा बजेटबारे विस्तृत प्रस्तुतीकरण गरेका थिए।
कार्यक्रममा कृषि अधिकृत सुमन खनालले कार्यक्रमको उद्देश्यबारे जानकारी गराएका थिए। वरिष्ठ कृषि अर्थविज्ञ युवराज ढकालको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यको प्रमुख आतिथ्यता तथा कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख घनश्याम चौधरीको अध्यक्षता रहेको थियो।
प्रकाशित: ६ भाद्र २०८३ १९:२३ शनिबार