भोटेकोसी बाढीपछि बेपत्ता बराहक्षेत्र -५ का ५३ वर्षीय मोहन माझीकी श्रीमती ५२ वर्षीया चन्द्रकला कोही नवआगन्तुक आउनेबित्तिकै श्रीमान्को खबर लिएर आए भन्ने ठान्छिन्। श्रीमान्का कुरा सुनेपछि उनका आँखा टिलपिलाउँछन्; ओठ काप्छन् र सम्हालिँदै श्रीमान्सँग भएको अन्तिम संवाद सुनाउँछिन्। ‘भदौ १० गते बिहान ६.३० बजेतिर उहाँ (श्रीमान्) ले भिडियो कल गर्नुभयो। केहीबेर कुरा भयो। नेटमा समस्या आउँदा कुरा बुझिएन। मैले फोन काटें। उहाँले फेरि कल गर्नुभयो, त्यतिबेला पनि नेटमा समस्या आयो’, उनले सम्हालिँदै भनिन्।
त्यो बिहान मोहनले भिडिओ कल गर्दाको अनुहार मोबाइलको पर्दामा देखिएको झझल्को चन्द्रकलाको मनमा आइरहन्छ। ‘सुरुमा बिहानको खाजा खाएर कल गरेको भन्दै घरको हालखबर सोध्नुभएको थियो। त्यसपछि केही बुझिएन’, उनले भनिन्। त्यो दिनको त्यो सामान्य भिडियो कल नै उनीहरूबिचको अन्तिम संवाद बन्न पुग्यो।
माझी दम्पतीबिचको कुराकानी बुझिएन। त्यसपछि मोहन आफ्नो कामतिर लागे। श्रीमती चन्द्रकला पनि आफ्नो काममा लागिन्। उनीहरूलाई के थाहा - त्यो मोबाइलको पर्दामा देखिएको अनुहार केही घन्टापछि सधैंका लागि सम्झनामा मात्र सीमित हुनेछ।
बराहक्षेत्र नगरपालिका– ५ का मोहन रसुवाको माथिल्लो त्रिशूली– १ जलविद्युत् आयोजनाको हेडबक्स क्षेत्रमा सुपरभाइजरका रूपमा काम गर्थे। भदौ १० भोटेकोसी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीले त्यस क्षेत्रलाई तहसनहस बनायो। त्यही बाढीपछि मोहन बेपत्ता भए तर उनको घरमा त्यो खबर तत्काल पुगेन। करिब ११ बजेपछि भाइ र आफन्तले उनलाई सोधे, ‘भिनाजुको खबर के छ ?’ त्यतिबेलासम्म उनी बाढी गएको विषयमा अनभिज्ञ थिइन्। उनलाई सोध्ने सबैलाई सहजै जवाफ दिइन, ‘ठीक छ, बिहान मात्र कुरा गरेको थिएँ।’
आफन्तले उनलाई बाढी गएको बारेमा जानकारी गराएपछि मात्र उनी झस्किइन्। उनले तत्काल मोहनलाई मोबाइलबाट फोन गर्दा ‘स्विच अफ’ जवाफ आयो। त्यसपछि उनको मनमा डर पस्यो। फेसबुकमा हेर्दा त बाढीले तहसनहस बनाएको र अकल्पनीय धनजनको क्षति भएको दृश्य देखेपछि हतारिएर आफन्तलाई जानकारी गराइन्।
घटना भएको १२ दिन बितिसकेको छ। सुरुवातीका दिनहरूमा उनलाई श्रीमान् मोहन पूर्वसेना भएका कारण जसरी पनि बच्न सक्ने आशा चन्द्रकलालाई थियो। ‘कतै उहाँको खबर लिएर कोही आएको हो कि वा आफैं फोन गर्नुहुन्छ कि?’ भनेर सोच्ने गर्थिन्।
अब भने चन्द्रकलालाई आस मर्दै गएको छ। कहींबाट कुनै खबर आएको छैन। उनले खोजीमा गएका आफ्नै ज्वाइँ नारायण श्रेष्ठ र १६ वर्षीय छोरा मनीष दुवैजना नुवाकोट, चितवान र काठमाडौंबाट फर्किसकेका छन्। उनी आफैं जान सक्ने अवस्था नभएपछि छोरा र ज्वाइँ पठाएकी थिइन्। ज्वाइँ र छोरा फर्किएपछि भने उनका मनमा बाँकी रहेको आशा पनि विस्तारै मर्दै गएको छ तर पूर्णरूपमा मरेको छैन। ‘सास कि लास नदेखेसम्म कसरी चित बुझाउनू ?’, उनी भक्कानिँदै भन्छिन्।
संस्कार अनुसार काजकिरियाका दिन सकियो, प्रतीक्षा सकिएको छैन। परिवार अब एउटा टुंगोमा पुग्नुपर्ने अवस्थामा छ। लास भेटिएको छैन। अन्तिम अवस्था थाहा छैन। ‘१२ दिन पूरा भएकाले काजकिरिया गर्ने कि भनेर सल्लाह भइरहेको छ, सबैजना आफन्तले एउटा टुंगो गरेपछि निर्णयमा पुग्नेछौं’, चन्द्रकलाका ज्वाइँ नारायण श्रेष्ठले भने।
चन्द्रकला र छोराछोरीलाई कसरी सम्झाउने भन्ने समस्या खडा भएको छ। चन्द्रकलालाई मोहनको प्रसंग आउनेबित्तिकै हनहनी दुख्न टाउको थाल्छ, शरीर कमजोर हुन्छ अनि उनी ढल्छिन्। सधैंजसो प्रेसर लो हुने उनलाई अहिलेको तनावले झन् कमजोर बनाएको छ। उनी दिनदिनै कमजोर भएकाले पनि संस्कार कार्य अघि बढाउने ढंगले परिवारमा छलफल भइरहेको छ।
भारतीय सेनाका हबलदार पदबाट १२ वर्षअघि अवकाश लिएका मोहन आठ वर्षदेखि रसुवाको २१६ मेगावाटको माथिल्लो त्रिशूली– १ जलविद्युत् आयोजनामा ‘सेफ्टी सुपरभाइजर’ का रूपमा काम गर्दै आएका थिए। उनी वैशाख ४ गते घरबाट आयोजनास्थल फर्किएका थिए। मोहनले दसैंमा घर आउने योजना बनाएका थिए। उनी ६ महिनाको अन्तरमा घर आउजाउ गर्थे।
भदौ १० गते बाढी आउनुअघि पनि रसुवामा पहिरो जाने गरेको घटनालाई मोहनले चन्द्रकलालाई भिडिओ कल गरेर देखाउँथे अनि चन्द्रकलाले ‘सुरक्षित भएर काम गर्नुहोला’ भन्दै सम्झाउने गर्थिन्। मोहन भन्ने गर्थे, ‘यस्तो कुरा तिमीले भन्नुपर्छ र ? म सुरक्षित भएर काम गरिहाल्छु नि।’
आफू पनि सुरक्षित स्थानतर्फ जान सक्ने अवस्था हुँदाहुँदै अरू मजदुरलाई सुरक्षित ठाउँमा पुर्याउन र सुरुङबाट बाहिर निकाल्न खटिँदा बेपत्ता भएको आयोजना कम्पनीले जानकारी गराएको साढुभाइ नारायण श्रेष्ठले बताए।
मोहनले आफ्नो ज्यान मात्र जोगाउन खोजेको भए भाग्न सक्थे। अरूलाई बचाउन र सुरुङबाट बाहिर निकाल्न लाग्दालाग्दै पछाडिबाट आएको लेदो र बाढीले बगाएको मोहनका साथीहरूले नारायणलाई बताए। मोहनको आसमा श्रीमती चन्द्रकलासहित २२ वर्षीया छोरी मञ्जु र १६ वर्षीय छोरा मनीष कि सास कि त लासको पर्खाइमा छन्।
रसुवामा आएको बाढीमै बेपत्ता इटहरी उपमहानगरपालिका– १९ भवानीपुरका सेनामा कार्यरत प्रभाकर दंगालकी आमा शारदाका आँखाबाट १२ दिनदेखि आँसु बगिरहेको छ। सहानुभूति दिन आउनेहरू उनलाई सम्हाल्ने प्रयास गर्छिन्, तर सक्दैनन्।
रसुवाको मैयुङमा नेपाली सेनाको सायर गणमा दरबन्दी भई ड्युटी गरिरहेका दंगालको आउँदो हिउँदमा विवाह गर्ने योजना परिवारले बनाएको थियो। ‘दसैंमा पनि आउँछु अनि बिहे गर्छु भनेको थियो, बाढीमै हरायो। छोरो फर्किन्छ जस्तो लाग्न छाडिसकेको छ’, प्रभाकरकी आमा शारदाले भनिन्।
विवाह गर्नका लागि प्रभाकरले आमाबुबालाई बुहारी हेरिसकेको बताए। ‘बुहारी खोज्नु पर्दैन, मैले हेरिसकेको छु भन्थ्यो’, शारदाले भनिन्। प्रभाकरका सबै सपनाको महल भताभुंग भएको छ।
प्रभाकरका जेठा दाजु प्रल्हाद रोजगारीका लागि बहराइनमा छन्। प्रल्हादकी श्रीमती पनि उनीसँगै बहराइनमा छिन्। यसले गर्दा पनि बाबुआमासँग बढी नै घुलमिल भएका र माया गर्ने प्रभाकर नै थिए। प्रभाकरलाई पनि आफन्त र भाइबहिनीहरू बढी नै माया गरेर ‘गोरे दादा’ भनेर बोलाउने गर्थे।
प्रभाकरलाई आफन्तले खोजी गर्ने सबै उपाय अपनाइसके। ‘अब भेटिन्छ भन्ने आशा पनि मरेजस्तो भएको छ’, प्रभाकर दाजु प्रवीण दंगालले भने। प्रभाकरकी आमा शारदा भने अझै छोराको पर्खाइमा छिन्। छोराले घरबाट ड्युटीमा फर्कने बेलामा भनेको एउटा वाक्य छ, ‘आमा, दसैंमा पनि आउँछु, हिउँदमा आएर विवाह गर्छु।’ आमा यही वाक्य सम्झिरहेकी छन्।
एक वर्षदेखि बराहक्षेत्र– ३ की रुबिना राजधानीले यसपटक दसैंमा घर फर्कने योजना बनाएकी थिइन्। उनी रसुवाको नाम चलेको होटल कैलाशमा काम गरिरहेकी थिइन्। बराहक्षेत्र– ३ कै महेन्द्र माध्यमिक विद्यालयबाट कक्षा १२ को पढाइ पूरा गरेपछि उनी रोजगारीका लागि रसुवा पुगेकी थिइन्।
होटलबाट लिनुपर्ने सबै पैसा लिएर घर फर्किएपछि अब त्यहाँ नफर्कने उनले सोच बनाएकी थिइन्। घरमै केही काम गर्ने, परिवारसँगै बस्ने उनको योजना थियो, तर अब त्यो योजना सम्झनामा मात्र बाँकी छ। उनको सास छ कि लास छ कुनै टुंगो छैन।
यसै वर्ष असारमा रुबिनालाई बाबुआमाले उनलाई घर आउन आग्रह गरेका थिए। बुढेसकाल लागेका आमाबाबुको मन छोरी घर आइदिए हुन्थ्यो भन्ने थियो, तर रुबिनाले तत्काल फर्कन मानिनन्। ‘धेरै पैसा लिन बाँकी छ, त्यो लिएर मात्रै आउँछु’, उनले बाबुआमालाई भनेकी थिइन्। सायद उनलाई लागेको थियो - अलि पैसा कमाएर फर्किएपछि घरमा केही सहज हुनेछ। बाबुआमाले पनि छोरी आउने दिन गन्दै बसेका थिए। तर दसैं आउनुअघि नै भोटेकोसी बाढीले सबै कुरा उल्टाइदियो। छोरी घर आउने प्रतीक्षा गरिरहेका बाबुआमा अहिले छोरी खोज्दै हिँडिरहेका छन्।
रुबिनालाई खोज्न उनका बाबुआमा काठमाडौं र चितवन पुगे, तर केही खबर पाएनन्। उनीहरू छोरीको पहिचानका लागि डिएनए परीक्षण गर्न रगत दिएर घर फर्कन लागेको रुबिनाकी माहिली दिदी सविनाले बताइन्। ‘बाबुआमाले डिएनएका लागि रगत पनि दिएको फोन गरेर भन्नुभएको छ’, सविनाले भनिन्, ‘अब चाँडै घर फर्कनुहुन्छ होला।’
भोटेकोसी बाढीबाट सुनसरीको बराहक्षेत्रका मात्रै पाँचजना बेपत्ता भएका छन्। बराहक्षेत्रमा मोहन र रुबिनासँगै ट्रकचालकका रूपमा कार्यरत बराहक्षेत्र– ७ का भुवनबहादुर श्रेष्ठ, हाइट्रो पावरमा कार्यरत बराहक्षेत्र– ८ का आशिष उराँव र रसुवा भन्सार कार्यालयको निर्माण कार्यमा कार्यरत बराहक्षेत्र– ११ का मणिकरण राई बेपत्ता भएका छन्। उनीहरूलाई खोजी गर्न नगरपालिकाले प्रति परिवार ५० हजार रुपैयाँ आर्थिक सहयोगसमेत गरेको नगर प्रमुख रमेश कार्कीले बताए।
रसुवामा भएको घटनामा परि बेपत्ता भएका नागरिकको खोजी गर्न नगरपालिकाले आर्थिक सहयोग गरेबाहेक जुन वडाका बेपत्ता नागरिक छन, ती वडाले पनि सरकारी संयन्त्रमार्फत पहल गरिरहेको वडा नं ५ का अध्यक्ष रोहित काफ्लेले बताए।
प्रकाशित: २२ भाद्र २०८३ ११:४६ सोमबार