तीन जनाको जीवितै उद्धार भएपछि सुरुङभित्र मजदुरी गर्ने क्रममा सम्पर्कविहीन भएका व्यक्तिका आफन्तमा आशा जागेको छ। सुरुङभित्र रहेका आफन्त जीवितै रहेको आशा गर्दै उनीहरूले सरकारले छिटो उद्धार गरिदिन आग्रह गरेका छन्।
‘मेरा श्रीमान् मानबहादुर चौधरी पनि चाइनिजलाई निकालेको सुरुङभित्रै मजदुरी गर्थे,’ टीकापुर नगरपालिका–१ समितपुर निवासी लाहाना चौधरीले भनिन्, ‘मेरो श्रीमान् जीवितै छन् भन्ने आशा छ।’ सरकारले उद्धारमा ढिलाइ गरेको भन्दै उनले गुनासो गरिन्।
‘भदौ १० गते बाढी गएको १२ दिन भइसक्यो। अझैसम्म अत्तोपत्तो छैन,’ उनले भनिन्, ‘सरकारले छिटो उद्धार गरिदिनुपर्यो।’
गत असारमा उनका श्रीमान् मानबहादुर चौधरी मजदुरी गर्न गएका थिए। तीन जनाको जीवितै उद्धार गरिएको अपर त्रिशूली–१ को सुरुङभित्र उनका श्रीमान्ले मजदुरी गर्ने गरेको उनले बताइन्।
‘यतिका दिनसम्म पनि सरकारले उद्धार नगरेर ढिलाइ गरेको छ। समयमै उद्धार गरिदिएको भए जीवितै श्रीमान् फर्किसक्थे,’ उनले भनिन्।
सम्पर्कविहीन भएका २१ जनाका परिवारले पैसा उठाएर गाउँको बड्घरलाई खोजीका लागि पठाएका छन्। सम्पर्कविहीन भएकाहरूको खोजीमा गएका बड्घरको कुरा त्यहाँ कसैले नसुनिदिएको उनी बताउँछिन्। सम्पर्कविहीन भएका व्यक्तिका आफन्त नगरपालिकामा गएर नगरप्रमुखसँग पनि गुहारेका छन्।
‘दुईपटक हामी नगरपालिकामा गएर नगरप्रमुखबाट नुवाकोटमा नेपाली सेनाका अधिकारीलाई फोन गर्न लगायौँ,’ उनले भनिन्, ‘श्रीमान् सम्पर्कविहीन हुँदा भोक, निद्रा हराएको छ। जति–जति दिन घर्किंदै गइरहेको छ, त्यति–त्यति चिन्ता बढ्दै छ।’
यसैगरी, टीकापुर नगरपालिका–१ का सम्पर्कविहीन अन्तराम चौधरीकी श्रीमती तुलसी चौधरीले सरकारले छिटो उद्धार गरिदिए श्रीमान् जीवितै घर फर्कने आशा बाँकी रहेको बताइन्। गत वैशाखमा उनका श्रीमान् घरबाट मजदुरी गर्न गएका थिए।
‘त्रिशूली–१ विद्युत् सुरुङमा मेरो श्रीमान् हुनुहुन्छ। सुरुङबाट तीन जनाको जीवितै उद्धार भएकोले मेरो श्रीमान् पनि जीवितै छन् भन्ने लागेको छ,’ उनले भनिन्, ‘सरकारले छिटो उद्धार गरिदिनुपर्यो। आज १२ दिन भइसक्यो। धेरै ढिलो भइसक्यो।’
बाढी आएको अघिल्लो दिन भदौ ९ गते साँझ फोनमा कुराकानी भएको उनले बताइन्। त्यस क्रममा घरमा बिरामी अवस्थामा रहेकी बुढी आमाको बारेमा श्रीमान्ले सोधेको उनले बताइन्।
‘यति दिनसम्म भित्र भोकै, पानी नखाई कति गाह्रो भएको होला, जीवितै छन् भन्ने लागेको छ,’ उनले भनिन्, ‘सरकारले जति ढिलो गर्यो, त्यति आशा मर्दै जाने हो।’
टीकापुरकै तुलाराम चौधरीले विद्युत् आयोजनामा काम गर्न यहाँबाट २१ जना लगेको स्थानीयले बताएका छन्। कामदार खोजेर लैजाने तुलाराम भने बाढीमा परेका छैनन्।
टीकापुर नगरपालिका–१ समितिपुर र विपत्तिपुर लगायतबाट ३३ जना विद्युत् आयोजनाको सुरुङमा काम गर्न गएको लाहाना चौधरीले बताइन्।
‘३३ जना सुरुङभित्र काम गर्ने हुन् भन्ने छ। कति जना सुरुङभित्र फसेका छन्, कतिको अवस्था के छ, थाहा छैन,’ उनले भनिन्, ‘सरकारले छिटो उद्धार गरिदिएमा सुरुङभित्र रहेका जीवितै घर फर्कने आशा छ।’
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र प्राविधिकको टोलीले शुक्रबार बिहान अपर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुई जना र शनिबार अपर त्रिशूली–१ को सुरुङबाट एक जनालाई जीवितै बाहिर निकालेको थियो।
प्रकाशित: २१ भाद्र २०८३ १९:०३ आइतबार