समाज

नक्कली शरणार्थी प्रकरण: कसलाई कति सजाय ? (सूचिसहित)

बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएकाहरू विरुद्ध काठमाडौं जिल्ला अदालतले कैद र जरिबानाको अन्तिम सजाय निर्धारण गरेको छ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले सरकारी लिखत किर्ते, ठगी, सङ्गठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहरिएका भीआईपी, कर्मचारी र बिचौलियाहरूलाई मंगलबार फरक-फरक सजाय सुनाएको हो।

अदालतको फैसलाअनुसार यस प्रकरणका मुख्य प्रतिवादीहरू पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, मुख्य योजनाकार मानिएका बिचौलियाहरू केशवप्रसाद दुलाल र सानु भण्डारीलाई जनही एकीकृत तर्फ ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबानाको सजाय तोकिएको छ।

यस्तै, सजाय पाउने अन्यमा सन्देश शर्मा, सागर राई, आङटावा शेर्पा र विक्रम भन्ने गोविन्द कुमार चौधरी रहेका छन्।

यसैगरी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र भुटानी अधिकारवादी नेता टेकनाथ रिजाललाई भने एकीकृत तर्फ जनही २ वर्ष कैद र २० हजार रुपैयाँ जरिबानाको सजाय तोकिएको छ।

खाँणलाई ठगीमा १ वर्ष, सङ्गठित अपराधमा १ वर्ष ६ महिना र राज्यविरुद्धको कसुरमा ६ महिना तथा थप ३ महिना कैद सजाय तोकिएको थियो। रिजाललाई सरकारी लिखत किर्तेमा १ वर्ष, ठगीमा १ वर्ष, सङ्गठित अपराधमा १ वर्ष ६ महिना र राज्यविरुद्धको कसुरमा ६ महिना कैद सजाय सुनाइएको छ।

पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का तत्कालीन सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई पनि एकीकृत तर्फ ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना निर्धारण गरिएको छ। तर, उनी ७५ वर्ष नाघेको जेष्ठ नागरिक भएकाले ‘जेष्ठ नागरिक ऐन, २०६३’ को दफा १२ बमोजिम ७५ प्रतिशत कैद सजाय छुट दिइएको छ। सो छुट र पूर्पक्षका क्रममा ३ वर्ष २ महिना १० दिन थुनामा बसिसकेको अवधि कट्टा गर्दा उनले अब मात्र २ महिना १३ दिन कैद भुक्तान गरे पुग्नेछ।

अदालतले नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जन कुमार खरेललाई भने एकीकृत तर्फ जनही १ वर्ष कैद र १० हजार रुपैयाँ जरिबानाको सजाय सुनाएको छ।

उनीहरूलाई ठगीमा ६ महिना, सङ्गठित अपराधमा ९ महिना र राज्यविरुद्धको कसुरमा ६ महिना कैद सजाय तोकिए पनि एकीकृत तर्फ १ वर्ष कैद कायम गरिएको हो।

यसैगरी, सोही प्रकरणसँग जोडिएको अर्को मुद्दामा अभियुक्त बेचन झालाई ठगी उद्योगमा कसुरदार ठहर गर्दै अदालतले १ वर्ष कैद र १० हजार रुपैयाँ जरिबानाको सजाय सुनाएको छ।

कसलाई कति सजाय ? 

टोपबहादुर रायमाझी (पूर्वउपप्रधानमन्त्री): ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना

टेकनारायण पाण्डे (पूर्वगृहसचिव): ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना

केशवप्रसाद दुलाल (बिचौलिया/मुख्य योजनाकार): ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना

सानु भण्डारी (बिचौलिया/मुख्य योजनाकार): ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना

डा. इन्द्रजित राई (पूर्वसुरक्षा सल्लाहकार): ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना

सागर राई: ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना

सन्देश शर्मा: ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना

आङटावा शेर्पा: ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना

विक्रम भन्ने गोविन्द कुमार चौधरी: ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना

बालकृष्ण खाँण (पूर्वगृहमन्त्री): २ वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना

टेकनाथ रिजाल (भुटानी अधिकारवादी नेता): २ वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना

नरेन्द्र केसी: १ वर्ष कैद र १० हजार रुपैयाँ जरिबाना

शमशेर मियाँ: १ वर्ष कैद र १० हजार रुपैयाँ जरिबाना

हरिभक्त महर्जन: १ वर्ष कैद र १० हजार रुपैयाँ जरिबाना

निरञ्जन कुमार खरेल: १ वर्ष कैद र १० हजार रुपैयाँ जरिबाना

प्रकाशित: ३० असार २०८३ २०:४३ मंगलबार