समाज

इलाममा भेटियो अति दुर्लभ चरो चाकासूचक

इलामको माइजोगमाई र सन्दकपुर गाउँपालिकाको सीमा चोयाटार वनमा भेटिएको अति दुर्लभ चरो (चाकासूचक)। तस्बिर: चरा अध्ययनकर्ता देवेन खरेल

इलाममा अति दुर्लभ चरो फेला परेको छ। जिल्लाको माइजोगमाई र सन्दकपुर गाउँपालिकाको सीमा चोयाटार सामुदायिक वनमा चाकासूचक (येल्लो रम्प्ड हन्नीगाइड) फेला परेको हो।  

चरा अध्ययनकर्ता तथा वाइल्डलाइफ फोटोग्राफर देवेन खरेलले यो चराको तस्बिर खिच्न सफल भएका छन्। र, उनले चराको खोजी गर्ने क्रममा यसलाई ‘अति महत्वपूर्ण उपलिब्ध’ भनेका छन्। खरेलका अनुसार चाकासूचक नामको चरो यही प्रजातिको मात्रै हुन्छ। ‘यो दुर्लभ मात्र होइन, अति दुर्लभ र महत्वपूर्ण चरो हो,’ खरेलले नागरिकन्युजसँग भने, ‘अरू–अरू नामका चराहरू धेरै प्रजतिका हुन्छन् तर यो चाकासूचक चाहिँ यही एउटा प्रजातिको मात्र हुन्छ।’

खरेलले यसको वैज्ञानिक नाम ‘इन्डिकेटर सन्थोनोटस’ भएको बताए। भिरमौरीले भिरमा चाका लगाएर मह बनाइ खाइसकेर छाडेपछि त्यही चाका खाने यसको विशेषता भएको उनको भनाइ छ। ‘पहिला–पहिला यसले भिरमौरीको पहिचान गर्ने भएकाले मान्छेले यो जता उड्यो, त्यसै पछ्याउने गर्थे रे,’ उनले भने, ‘यो कोइलीभन्दा अति चतुर चरो हो।’

यस पटकको जंगल भ्रमणमा माइजोगमाईको थुम्केदेखि जौबारीसम्म ७४ प्रकारका चरा भेटिँदा आफ्ना लागि ५ नयाँ चरा भेटेकामा यो सबैभन्दा महत्वपूर्ण भएको खरेलको भनाइ छ। करिब १५ सेन्टिमिटर लामो हुने यो चराको जोडीकै तस्बिर आफूले खिचेको खरेल बताउँछन्। नेपालको पन्छीसूचक लालसूचीमा यो चरालाई ‘अत्यन्त कम पाइने’मा सूचीकृत गरिएको छ।

यो पहाडी र हिमाली वनको १ हजार ५ सयदेखि ३ हजार मिटर उचाइमा पाइने चरो हो। खरेलले यो एउटा चराको अभिलेखमात्र नभई वन, मौरी र अन्य जैविक प्रणालीबीचको सम्बन्धको जैविक सूचक पनि भएको बताए। ‘कुनै पनि ठाउँमा नयाँ वा दुर्लभ चरा भेटिनु पर्यटन प्रवर्धनका लागि पनि उत्तिकै सहयोगी बन्नसक्छ,’ उनले भने, ‘माइजोगमाई र सन्दकपुर त्यसैपनि पर्यटकीय क्षेत्र हुन्, त्यसमा चरा पर्यटन अर्काे महत्वपूर्ण गन्तव्य बन्नसक्छ।’

फोटोग्राफर खरेलले केही वर्षअघि इलामकै सूर्याेदय नगरपालिका १, सिमढापमा करिब १ सय ७० वर्षयता नेपालमा नदेखिएको हङ्रायो (रुफुस नेक्ड हर्नबिल) फेला पारेका थिए।

प्रकाशित: ८ भाद्र २०८३ ११:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App