समाज

खोटाङमा फुटसल मैदान खन्दा भेटियो द्वन्द्वकालीन विस्फोटक पदार्थ

खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित बेसक्याम्पमा फुटसल मैदान निर्माणका लागि जमिन खन्ने क्रममा विस्फोटक पदार्थ फेला परेको छ।

तत्कालीन सशस्त्र द्वन्द्वका बेला सुरक्षा फौजको बेसक्याम्प रहेको उक्त स्थानमा शनिबार साँझ जमिन सम्याउने क्रममा बेवारिसे विस्फोटक फेला परेको हो।

फेला परेको विस्फोटक पदार्थलाई सोमबार बिहान नेपाली सेनाको टोलीले निष्कृय गर्ने तयारी गरेको छ। साँझपख फेला परेकाले तत्काल डिस्पोज गर्न प्राविधिक रूपमा कठिन भएपछि स्थानीय प्रशासनले सो क्षेत्र वरिपरि नजान र उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

रणभीम गण मुडे ब्यारेकका गणपति प्रमुख सेनानी पवन कार्कीका अनुसार विस्फोटक पदार्थ भेटिएको स्थानलाई सुरक्षित राखिएको छ।

रातको समयमा जोखिम हुने भएकाले सोमबार बिहानै सेनाको विशेष टोली परिचालन गरी उक्त वस्तु निष्कृय पारिने उनले जानकारी दिए।

खोटाङकी प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले द्वन्द्वकालमा सुरक्षा फौजको क्याम्प रहेका बेला सुरक्षा प्रयोजनका लागि उक्त स्थानमा विस्फोटक पदार्थ राखिएको हुन सक्ने बताइन्।

सशस्त्र द्वन्द्वका बेला स्थानीय व्यक्तिको निजी जग्गामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त फौज बस्ने गरी बेसक्याम्प खडा गरिएको थियो।

शान्ति प्रक्रियापछि क्याम्प अन्यत्र सारिए पनि स्थानीयले खेतीपाती गर्ने वा निर्माणका लागि जमिन खन्ने क्रममा यसअघि पनि पटक-पटक यस्ता विस्फोटक पदार्थहरू फेला पर्ने गरेका थिए।

प्रकाशित: २१ भाद्र २०८३ १९:५५ आइतबार