समाज

सिम्तामा म्याद गुज्रिएका खाद्य सामग्री नष्ट

सुर्खेतको सिम्ता गाउँपालिकामा गरिएको संयुक्त बजार अनुगमनका क्रममा १५ हजार रुपैयाँभन्दा बढी मूल्यका म्याद गुज्रिएका खाद्यवस्तु तथा सामग्री बरामद गरी नष्ट गरिएको छ।

सिम्ता गाउँपालिकाका जामुने बजार, गोजी बजार र सिर्जना बजार क्षेत्रमा संयुक्त बजार अनुगमन गरिएको हो।

अनुगमनका क्रममा म्याद नाघेका खाद्यवस्तु, पेय पदार्थ, बीउबिजन, मिठाइ, जुस, खाने तेललगायतका सामग्री फेला परेका थिए। बरामद सामग्रीको मूल्य १५ हजार रुपैयाँभन्दा बढी रहेको जनाइएको छ।

बरामद गरिएका सामग्री सम्बन्धित व्यक्तिहरूको रोहवरमा मुचुल्का तयार गरी सिम्ता गाउँपालिका परिसरको खाली जग्गामा खाल्डो खनी नष्ट गरिएको छ।

सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्व तथा सिम्ता गाउँपालिकाका अध्यक्षको प्रमुख आतिथ्यतामा भएको अनुगमनमा गाउँपालिकाको स्वास्थ्य शाखा, कृषि शाखा, पशु स्वास्थ्य शाखा, उद्योग शाखा, नेपाल प्रहरी बादेपिपलका प्रमुख, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख तथा जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रतिनिधिको सहभागिता थियो।

बजारमा म्याद गुज्रिएका तथा गुणस्तरहीन सामग्रीको बिक्री–वितरण रोक्न अनुगमनलाई निरन्तरता दिइने सम्बन्धित निकायले जनाएको छ।

प्रकाशित: १४ आश्विन २०८३ १२:३० बुधबार