नारायणगढ–मुग्लिन सडकखण्डको खहरे खोलामा एकाएक पहिरो झरेपछि अध्ययनका लागि सडक विभागबाट विषयविज्ञ बोलाइएको छ।
गएको मंगलबार पटकपटक गरी पहिरो झरेपछि करिब आठ घण्टा सडक आवागमनमा अवरोध पुगेको थियो।
सडक डिभिजन कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार नयाँ ठाउँमा पहिरो झरेपछि सडक विभागका भू–प्राविधिकलाई स्थलगत अध्ययनका लागि बोलाइएको छ।
विज्ञ टोलीले अध्ययन गरिसकेकोपछि के गर्ने भन्ने टुङ्गो लाग्ने उनको भनाइ छ। ‘केही वर्षअघि सडक विस्तारका क्रममा भित्तो काटिएको सो ठाउँमा पहिलोपटक पहिरो झरेको हो। यो स्थान मुग्लिन बजारबाट करिब ७०० मिटर नारायणगढतर्फ पर्दछ’, उनले भने।
यस ठाउँमा ४० मिटर अग्लो पहाड रहेको जनाउँदै इन्जिनियर घिमिरेले त्यसको ३० मिटरमाथिसम्म चट्टान र त्योभन्दा माथि माटो रहेको जानकारी दिए।
करिब २० मिटरबाट खसेको पहिरो ३० मिटरमाथिसम्म पुगेको थियो। पहिरोले करिब २० मिटर लामो भाग पुरेको थियो।
घिमिरेका अनुसार सो ठाउँमा पुनःपहिरो खस्ने जोखिम छ। उनले त्यसको भूबनोटलगायत वरिपरिको संरचनाको अध्ययन गरी रोकथामको काम अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।
गत वर्ष नगन्य रूपमा पहिरो झरेकामा यस वर्ष १० दिनअघिदेखि सामान्य हुँदै मंगलबार एकाएक ठूलो पहिरो झरेको थियो।
‘यस ठाउँलाई पहिरोको जोखिम रहेका ठाउँमा सडक कार्यालयले राखेको थिएन। वर्षात सुरु भएसँगै पहिरो खस्न सुरु गरेपछि दुःख दिन सक्ने भएकाले रोकथामका लागि तत्काल विषय विज्ञलाई बोलाइएको छ’, इन्जिनियर घिमिरेले भने।
यसै सडकका अन्य सात ठाउँमा उच्च जोखिम रहेको जनाउँदै करिब ४३ ठाउँमा जोखिम रहेको उनले भने।
पहिरो खस्नासाथ पन्छाउनका लागि कार्यालयले मुग्लिन र सेती दोभानमा उपकरण राखेको छ। तुइन खोलाको पहिरो नियन्त्रणका लागि बोलपत्र स्वीकारेको निर्माण कम्पनीले उपकरण राखेकाले अन्य ठाउँमा खसेका पहिरो तत्काल पन्छाउनुपर्दा सहयोग लिन सकिने इन्जिनियर घिमिरेले बताए।
घिमिरेका अनुसार मंगलबार खहरे खोलाको पहिरो पन्छाउन तुईन खोलाबाट समेत उपकरण लगिएको थियो। यो सडक हुँदै काठमाडौं, पोखरालगायत क्षेत्रमा आवतजावत गरिन्छ।
थोरै समय सडक बन्द हुँदासमेत धेरै यात्रुले दुःख पाउने भएकाले पहिरो रोकथामको कामलाई कार्यालयले प्राथमिकता दिँदै आएको जनाएको छ।
प्रकाशित: १४ श्रावण २०८३ १८:१९ बिहीबार