भक्तपुर भनेपछि जुजु धौ (दही), भादगाउँले टोपी आदि इत्यादीले चिनिन्छ । यही चिनारी झल्कने प्रदर्शनी बिहीबारदेखि भक्तपुरमा सुरु भएको छ ।
भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजनामा घरेलु उत्पादन मेला सुरु भएको हो । उद्योग वाणिज्य कार्यालय र गो लोकलको सहकार्यमा मेला सुरु भएको हो ।
मेला भक्तपुर नगरपालिका वडा नं १ नःपुख (पोखरी) परिसरमा भएको हो ।
मेलामा ख्वप बजी (भक्तपुरको चिउरा), घरबुना कपडा, काष्ठकला, हस्तकला, धातुकला, प्रस्तर कला, माटाका भाडाहरु, कृषि उत्पादनहरु, तोरीको तेल आदिको प्रदर्शनी छ । साथै नेपाली अचार, पाउँका प्रकारहरु, नर्सरी तथा अन्य थुप्रै घरेलु उत्पादनहरुका सामानहरु प्रदर्शनीमा राखिएका छन् । साथै नेवारी खाजाका परिवार र च्याउका परिकारहरु पनि प्रदर्शनीमा राखिएका छन् ।
मेला पुस ३, ४ र ५ चैत बिहान १० बजेदेखि साँझ ६ बजेसम्म हुनेछ । प्रदर्शनी हेर्न प्रवेश शुल्क निःशुल्क गरिएको आयोजकले जनाएको छ । भक्तपुरको संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि मेला सुरु गरेको गरेको पनि आयोजकले जनाएको छ ।
मेलाको उदघाटन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले घरेलु उद्योगहरुले देशका धेरै युवाहरुलाई रोजगारी प्रदान गरिरहेको बताउँदै हाम्रा उत्पादनहरु विश्व बजारमा पु¥याउन संघ र प्रदेश सरकारले सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए । भक्तपुर धेरै घरेलु उत्पादन हुने ठाउँ हो भन्दै उनले भक्तपुरमा ससाना मेला तथा उत्सवहरु समय समयमा भइरहको जानकारी गराए ।
भक्तपुरको घरेलु उत्पादनको प्रयोग र खरिदमा जनतालाई उत्साहित गर्दै आएको बताउँदै उनले नगरपालिकाले युवा लक्षित सीपमूलक तालिम सञ्चालन र युवा उद्यमशील ऋणको व्यवस्था गर्दै आएको जानकारी गराए । उनले घरेलु उद्योगहरुलाई सक्दो सहज ऋणको व्यवस्था गर्नु उपयुक्त हुने पनि बताए ।
कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले घरेलु उद्योगले स्थानीय उत्पादन प्रवद्र्धन गर्नुका साथै देशको आर्थिक विकासमा पनि महत्वपूर्ण भूमिका खेलेको बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठले उद्यमीहरुको उद्यम प्रवद्र्धनमा उद्यमीहरु नै संगठित हुनुपर्ने बताउँदै स्थानीय सरकारको साथ र सहयोगले मात्र भक्तपुर घरेलु उद्योगहरु सञ्चालनमा सहजता मिल्ने बिश्वास व्यक्त गरे ।
उद्योग तथा वाणिज्य कार्यालय सूर्यविनायक भक्तपुरका कार्यालय प्रमुखु रामप्रसाद कुस्मा, गो लोकका संयोजक विरेन्द्र जति, महिला उद्यमी समितिका अध्यक्ष कमलश्वरी खर्बुजालगायतले प्रदर्शनीको महत्वबारे चर्चा गरे ।
प्रकाशित: ३ पुस २०८२ १९:१४ बिहीबार