चितवनको वरण्डाभार जंगलनमा इभिनिङ (सन्ध्याकालीन) सफारी गरिने भएको छ ।
बागमती प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयले वरण्डाभार जंगल क्षेत्रमा पर्ने टिकौलीदेखि भिमवली सामुदायिक वनसम्म इभिनिङ सफारी सञ्चालन गर्न लागिएको हो ।
वन डिभिजन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार पर्यटन क्षेत्रको विकास गर्नका लागि वरण्डाभार क्षेत्रमा नेपालकै पहिलोपटक इभिनिङ सफारी सञ्चालन गर्न लागिएको हो । यसको दूरी १५ किलोमिटर रहेको छ ।
‘हामीले सन्ध्याकालीन सफारीको अध्ययन गरिसकेका छौँ, जतिसक्दो छिटो सञ्चालनमा ल्याउँछौँ,’ उनले भने, ‘यसबाट वरण्डाभार क्षेत्रका सामुदायिक वनले समेत राम्रो आम्दानी गर्नेछन् ।’ उनले हरियो वनलाई पर्यटनसँग जोड्नका लागि यस्तो अभ्यासको थालिन गरिएको बताए ।
वरण्डाभारमा पर्ने चितवनका सामुदायिक वनलाई जैविक विविधतासँग जोडेर पर्यटकीय गन्तव्य र सिङ्गो चितवनलाई जैविक विविधताको जिल्ला बनाउन सकिने उनले बताए । उनले पछिल्लो समय बरण्डाभार क्षेत्रमा फोहोर फालेर डम्पिङ साइट बनाइएको भन्दै चिन्ता प्रकट गरेका थिए ।
संरक्षणकर्मी बासु ढुंगानाले नेपालमै सुन्दर रहेको वरण्डाभार क्षेत्रमा जीप सफारी गर्न सकेमा पर्यटनबाट आम्दानी गर्न सकिने बताए । ‘सौराहामा ५ लाख पर्यटक आउँछन् । त्यसमध्ये २० प्रतिशत मात्र ल्याउन सके पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ,’ उनले भने ‘सौराहा क्षेत्रका मध्यवर्ती सामुदायिक वनले ६ करोडसम्म सफारी मार्फत आम्दानी गर्दछन् ।’
स्थानीय जनताले लाभ लिन सकेमा संरक्षण पनि हुने उनको तर्क छ । कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले वरण्डाभार क्षेत्रमा फोहोर नै चुनौती बनेको बताए । उनले भने, ‘फोहोर व्यवस्थापनका लागि अस्थायी र दीर्घकालीन दुई तरिकाबाट समाधान गर्नुपर्छ, चुनौतीलाई सामना गर्दै अघि बढ्नुपर्छ ।’
यस्तै, बागमती प्रदेशका पूर्वमन्त्री कृष्णप्रसाद सिलवालले वरण्डाभार क्षेत्रमा फोहोर ठूलो चुनौती बनेको बन्दै यसको स्क्यान गरेर अघि बढ्नुपर्ने बताए । बागमती प्रदेशकै अर्का पूर्वमन्त्री उत्तम जोशीले करोडौँ पर्ने काठहरु बरण्डाभार क्षेत्रमा कुहिएर बसेको र यसको सदुपयोग गर्न नसकिएको कानुनलाई अब परिमार्जन गर्नुपर्ने बताए ।
जिल्ला समन्वय समितिका प्रमुख नारायण अधिकारीले फिनल्यान्डमा २३ वटा नगरपालिकाले एउटै ल्यान्डफिल साइट बनाएको उदाहरण दिँदै यहाँ पनि त्यसको सम्भाव्यता अध्ययन गर्नुपर्ने बताए । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री भरतबहादुर केसीले वरण्डाभारको ‘इभिनिङ सफारी’ नेपालकै पहिलो नयाँ ‘डेस्टिनेसन’ भएको बताए । ‘मन्त्रालयको टिमले अध्ययन अवलोकन गरेको छ, मैले पनि अवलोकन गरेको छु ‘इभिनिङ सफारी’का लागि उपयुक्त ठाउँ रहेको छ ।’
मन्त्री केसीले ‘इभिनिङ सफारी टुरिजमका लागि नयाँ फ्लेवर भएकाले यो सफल हुने विश्वास व्यक्त गरे । ‘इभिनिङ सफारीलाई उचाइमा पुर्याउन सबै सरोकारवाला निकायहरु लाग्नुपर्छ’, वरण्डाभार वन संरक्षण क्षेत्र मूल परिषद् भेलामा मन्त्री केसीले भने, ‘नेपालकै पहिलो इभिनिङ सफारीको रुपमा यसको विकास गर्नुपर्छ ।’ उनले बागमती प्रदेश सरकारले छिटै वन ऐन र वातावरण ऐनलाई परिमार्जन गरेर अन्तिम रुप दिने बताए ।
‘हिजो हरियो वन नेपालको धन भनियो, आज हरियो वन समृद्ध गाउँसहर बनाउनुपर्छ । हिजो वनलाई संरक्षण गरेका थियौँ, आज सदुपयोग गर्दै संरक्षण गर्ने नीति ल्याउनुपर्छ, यसकै लागि बागमती प्रदेश सरकारले वन ऐन ल्याउँदै छ’, मन्त्री केसीले भने ।
वरण्डाभार क्षेत्रमा बाघ, गैँडालगायतका वन्यजन्तु अवलोकन गर्न सकिने तथा विभिन्न चराचुरुङ्गीसमेत देख्न पाइन्छ । यहाँ सिमसार क्षेत्र, सिसौ वन, साल वन, खयरलगायत विभिन्न जडीबुटी पाइन्छन् । यो क्षेत्र राजमार्ग र सौराहा नजिक रहेकोले पर्यटकका लागि थप आकर्षक गन्तव्य बन्न सक्ने विश्वास लिइएको छ । चितवनमा वरण्डाभार क्षेत्रभित्र १७ वटा सामुदायिक वन पर्दछन् । यो वन्यजन्तुका लागि करिडोर क्षेत्र समेत हो । यही बाटो भएर वन्यजन्तुहरु नेपालको महाभारत र दक्षिणमा टाईगर रिजर्भसम्म ओहोर दोहोर गर्दछन् ।
पछिल्लो समय भने जनघनत्वका कारण समस्यामा रहेको छ ।
प्रकाशित: १७ चैत्र २०८२ १४:४३ मंगलबार