बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तल रहे पनि जोखिम कायमै रहेको जानकारी दिएको छ।
महाशाखाले सोमबार (आज) बिहान जारी गरेको बुलेटिन अनुसार मापनमा कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली तथा तिनका सहायक नदीसहित कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल छ। तर आगामी तीन दिन अधिकांश प्रमुख नदीमा जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ। आज, भोलि र पर्सि सप्तकोशी, नारायणी, त्रिशूली, बुढीगण्डकी, मर्स्याङदी, सेती, कालीगण्डकी, कर्णाली, भेरी, पश्चिम सेती, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबईलगायत नदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाले जनाएको छ।
आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, धादिङ, गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर आसपासका स-साना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ।
यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ। नुवाकोट र रसुवाका स-साना नदीमा भने बहाव उल्लेख्य बढ्नुका साथै आकस्मिक बाढीको उच्च सम्भावना रहेको महाशाखाले जनाएको छ। नदी तथा खोलानाला आसपासका बासिन्दालाई सतर्क रहन र बाढीको जोखिम भएका क्षेत्रमा आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
प्रकाशित: १५ भाद्र २०८३ ०९:५८ सोमबार