समाज

एयरपोर्टका कर्मचारीलाई नैतिक संहिता: देशको मुहार झल्किने ठाउँमा आत्मीय व्यवहार

अन्तर्राष्ट्रिय विमानस्थललाई ‘देशको मुहार झल्किने ठाउँ’ मानिन्छ। विदेशबाट आउने आगन्तुक तथा पर्यटकका पहिलो पाइला टेक्ने ठाउँ नै विमानस्थल रहने भएकाले विश्वव्यापी रूपमै त्यो मान्यता कायम छ। 

तर, नेपालमा विमानस्थलका कर्मचारी र सुरक्षामा खटिने सुरक्षाकर्मीले यात्रुमाथि गर्ने व्यवहारबारे सधैँ टीकाटिप्पणी र आलोचना भइरहन्छ। लामो समय नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन प्रणाली त सधैँ विवाद र आलोचनाको केन्द्र छ। अध्यागमन क्षेत्रका तमाम विकृतिहरू बेलाबेला सामुन्ने आइरहन्छन्। पछिल्लो समय चर्चामा आएको भिजिट भिसा प्रकरण पनि त्यसको एक उदाहरण हो। 

यस्तोमा विमानस्थलमा रहेको अध्यागमन कार्यालयले शुक्रबार अध्यागमन कर्मचारीका लागि एक ‘नैतिक संहिता’ जारी गरेको छ। प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाले एक सूचना जारी गरी नैतिक संहिता जारी गरेका हुन्। 

सूचनामा अध्यागमन प्रशासनसँग सम्बन्धित अन्तर्राष्ट्रिय मूल्य, मान्यता तथा सिद्धान्त अनुरूप कर्मचारीलाई विद्यमान राष्ट्रिय कानुन, सामाजिक ÷ सांस्कृतिक मूल्यप्रति जिम्मेवार र संवेदनशील बनाउन संहिता जारी गरिएको भनिएको छ। 

यस्तै कर्मचारीको असल व्यक्तिगत, पदीय एवं पेसागत आचरण र व्यवहारका माध्यमबाट आम नागरिकले अनुभूति गर्ने गरी सेवा प्रवाहलाई थप छिटोछरितो, निष्पक्ष, पारदर्शी, वस्तुनिष्ठ, अनुमानयोग्य र नतिजामूलक बनाउन नैतिक संहिता लागू गरिएको भनिएको छ। 

नैतिक संहिताका बुँदाहरूमा  बाहिरिने यात्रुलाई कम्तीमा ‘ह्याब अ नाइस जोर्नी’ भन्ने, नेपाल भित्रिने यात्रुलाई ‘वेलकम टु नेपाल, ह्याब अ नाइस जोर्नी’ भन्ने, थोरै र आवश्यक प्रश्नहरू मात्र गर्ने, खाडी मुलुकलगायतमा काम गर्न प्रस्थान गर्ने यात्रुलाई सम्मानयुक्त शब्दहरू प्रयोग गर्ने, रूखो व्यवहार नगर्ने, बोली वचनमा मिठासपन दिने र देशको मुहार झल्कने ठाउँ भएकाले पर्यटकहरूसँग बोली वचन र हाउभाउले आत्मीयता प्रदान गर्ने लगायतका विषय उल्लेख छन्। 

यस्तै नैतिक संहिता अनुरूपको व्यवहार देखिएको/नदेखिएकोबारे यात्रुहरूले तत्काल गुनासो गर्न सक्नेगरी आफूले प्राप्त गरेको सेवाको सन्तुष्टि व्यक्त गर्ने गरी ‘एक्जिट सर्भे’को व्यवस्था गर्ने पनि उल्लेख छ। 

प्रकाशित: २७ असार २०८२ २०:४१ शुक्रबार

#Tia Airport #immigration #NagarikNews